दाङ,२९ मंसिर ।
लुम्बिनी प्रदेशको स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको सेवा आजदेखि प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाबाट सुरु भएको छ ।
बुधबार राप्ती उपत्यकाको सिसहनियामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजित थारूले उद्घाटन गरेसँगै मन्त्रालयको नियमित सेवा सुरु भएको बताए ।
मन्त्रालयले पूर्ण रूपले राप्ती उपत्यकाबाट काम सुरु गरेको जानकारी गराउँदै मन्त्री थारूले अव छिटोभन्दा छिटो अन्य मन्त्रालयले पनि स्थाई राजधानीबाटै सेवा सुरु गर्ने बताए ।
मन्त्री थारूले प्रदेश सरकारको निर्णय अनुसार सबैको सहयोगमा राजधानीको सफलतासँगै राजधानी कार्यान्वयनमा सहयोग गर्नुपर्ने बताए ।
संघ सरकार र प्रदेश सरकारको नीति अनुसार सबै पालिकामा १५ सैयाको अस्पताल, खोप केन्द्र, स्वास्थ्य संस्था निर्माणका लागि काम सुरु भएको बताउँदै स्वास्थ्य सेवामा मध्यकालिक तथा दीर्घकालीन रणनीतिका साथ काम भैरहेको बताए ।
उनले कोभिडको तेस्रो भेरियन्टबाट नागरिकलाई सुरक्षित राख्नका लागि प्रदेश सरकारले संघ सरकारसँग खोपको व्यवस्थाको लागि पहल गरिरहेको समेत बताए ।
कार्यक्रममा राज्य मन्त्री विमला कुमारी खत्रीले स्थाई राजधानीमा मन्त्रालयको काम सुरु भएसँगै नागरिकले सरल र सहज रुपमा सेवा पाउन सक्ने र मन्त्रालयले राम्रो काम गरेर देखाउनु पर्ने समय रहेको बताइन् ।
मन्त्रालयका सचिव डाक्टर विकास देवकोटाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सेवा मूलक मन्त्रालय भएका कारण सेवा दिने काममा कमी नहुने बताए ।
निर्देशनालय, आपुर्ति, तालिम र प्रयोगशालाको कार्यालयको छिटो प्रबन्ध गर्दै मन्त्रालयलाई पूर्ण रुपमा सेवा दिन तयार बनाइने बताए । १२ जिल्लामा नागरिकको सेवा क्षेत्रको काम गर्दै सचेतना, नीति निर्माण, योजना निर्माण गर्ने काममा मन्त्रालय द्रुत रुपमा लागि रहेको देवकोटाले बताए ।
कार्यक्रममा राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले आफूहरूले स्थाई राजधानीका लागि सबै कुरा जोखिममा राखेर सहयोग गरेको तर सुस्त सुस्त राजधानीको मेलो सर्दै गरेको बताए । राजधानी व्यवस्थापनका लागि स्थानीय राप्ती–गढवा गाउँपालिका र शितगंगा नगरपालिकाका नागरिकबाट भरपुर सहयोग रहेको बताए ।
लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकामा स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्रालयको मुख्य कार्यालय उद्घाटन कार्यक्रममा उपाध्यक्ष जगदम्बा कुमारी चौधरी, जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख अंगदबहादुर शाही, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजाल, प्रवक्ता विद्याशरण चौधरी, वडा नं. ५ का वडा अध्यक्ष गोवर्धन रावत, खानेपानीका अध्यक्ष शान्तराज पन्थी, उप सचिव राजेन्द्रप्रसाद पन्थीलगायतले शुभकामना ब्यक्त गरेका थिए ।






