काठमाडौं,२९ मंसिर ।
नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट सभापतिमा शेरबहादुर देउवा पुनः निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा प्रतिद्वन्द्वी शेखर कोइरालालाई हराउँदै देउवा सभापतिमा निर्वाचित भएका हुन् । अघिल्लो दिनको निर्वाचनमा सभापतिको पाँच दाबेदारमध्ये कसैको पनि ५१ प्रतिशत मत नआएपछि देउवा र कोइरालाबीच दोस्रो चरणको प्रतिस्पर्धा भएको थियो ।
कुल ४ हजार ७ सय ४३ मतदातामध्ये मंगलबार दोस्रो चरणको मतदानमा ४ हजार ५ सय ६२ मतदाता सहभागी भएका थिए । पहिलो चरणमा ४ हजार ६ सय ७९ मत खसेको थियो । पहिलो चरणमा २ हजार २ सय ५८ मत ल्याएका देउवाले दोस्रो चरणमा २ हजार ७२४ मत ल्याए । पहिलो चरणमा १ हजार ७ सय २ मत आएको कोइरालाको दोस्रो चरणमा १ हजार ८१७ मत आएको थियो ।
पहिलो चरणका प्रतिस्पर्धी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले पनि देउवालाई नै सहयोग गरेका थिए । सिंहले ३ सय ७१ मत ल्याउनुभएको थियो भने निधिले २ सय ५० मत ल्याउनुभएको थियो । गुरुङको २२ मत आएको थियो । पहिलो चरणमा ७६ मत बदर भएको थियो । निर्वाचित भएपछि सभापति देउवाले कांग्रेसलाई अझ बलियो बनाउदै आगामी निर्वाचनमा तीनै तहमा कांग्रेसको सरकार बनाउन आफ्नो ध्यान केन्द्रित हुने बताए । मतदाताहरुलाई धन्यवाद दिँदै सभापति देउवाले पार्टीभित्र सबैलाई समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए ।
यो महाधिवेशनमा लोकतान्त्रिक फोरमबाट कांग्रेसमा समाहित भएका विजयकुमार गच्छदारको समूह, राप्रपाबाट कांग्रेसमा समाहित भएको सुनीलबहादुर थापाको समूहदेखि कांग्रेसको प्रकाशमान गुट, विमलेन्द्र निधिको गुटको समर्थनमा पुनः सभापति बनेका देउवालाई सुजाता कोइरालाले पनि साथ दिएकी थिइन् ।
कांग्रेसभित्र तेस्रो गुटका रुपमा रहेको कृष्णप्रसाद सिटौला समूहले पहिलो चरणमै देउवालाई समर्थन गरेको थियो । अहिले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका महामन्त्री डा. शशांक कोइरालासमेत शेखरको पक्षमा खुलेर नलागेपछि शेखर कोइराला एक्लिएका थिए । युवा नेताको जोस र बूढा नेताको होसका साथ एकपटक यसैपटक भन्दै नेतृत्व दाबी गरेका कोइरालाको यो प्रतिस्पर्धा र प्राप्त नतिजाले देउवापछिको वैकल्पिक नेताका रुपमा स्थापित गरेको भन्दै कांग्रेसभित्र चर्चा हुन थालेको छ ।
शेखर कोइरालाले मत परिणामलाई सहर्ष स्वीकार गर्दै कांग्रेसभित्र बृहत्तर एकताको प्रयास जारी राख्ने बताए । जसरी पनि देउवाको नेतृत्व परिवर्तन गर्ने भन्दै नेतृत्व दाबी गरिरहेका सिंह र निधिले दोस्रो चरणमा देउवा नै नभई हुँदैन भनेपछि आश्चर्यचकित बनेका कोइराला इतर पक्षको समीकरण बन्ने आशामा थिए । नेतृत्व परिवर्तनको वकालत गर्दै सभापतिको दाबी पेस गरेका सिंह, निधि र गुरुङले दोस्रो चरणमा देउवालाई नै साथ दिने बताएपछि कोइरालाई राजनीतिमा इमानदारिताको प्रश्न उठाएका छन् । नैतिकता गुमाएपछि राजनीति नहुने भन्दै कोइरालाले राजनीतिमा इमानदारिता चाहिने आवस्यकता औल्याए ।
सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका निधिले नेतृत्व परिवर्तन गर्ने आफ्ना चाहना भए पनि मतदाताले नचाहेपछि आफुले देउवालाई समर्थन गरेको बताए । सिंहले पनि आफ्नो प्रमुख मुद्दा नेतृत्व परिवर्तन भएको भन्दै देउवाले कमिकमजोरी सुधार्ने र कांग्रेसलाई विधिविधानअनुसार आगाडि बढाउने बताएपछि आफूले समर्थन गरेको बताए ।
नेतृत्वमा पुनः देउवा आएपछि कांग्रेस नेता रमेश लेखक भन्छन्– ‘यो महाधिवेशनमा देउवाको प्रमुख एजेन्डा भनेको पार्टी एकताबद्ध बनाउने, संगठनात्मक रुपमा सुदृढ र वैचारिक रुपमा सबल कांग्रेस बनाउने हो भने दोस्रो एजेन्डा आगामी निर्वाचनमा स्थानीय, प्रदेश र संघीय तीनै तहमा कांग्रेसको सरकार बनाउने हो । देउवाले त्यही बाटोमा कांग्रेसलाई लैजानुहुन्छ भन्ने विश्वास लिएको छु ।
पदाधिकारीसहित केन्द्रीय सदस्यहरुको मतगणणा भने पार्टी केन्द्रीय कार्यालय सानेपामा हुने निर्वाचन समितिका सचिव जगन्ननाथ श्रेष्ठले जानकारी दिए । १३ पदाधिकारीसहित १ सय ३४ सदस्यका लागि हुने निर्वाचनमा ४ सय ८२ जना चुनावी मैदानमा छन् । प्रदेश नम्बर दुईका दुई जना केन्द्रीय सदस्य निर्विरोध भइसकेका छन् । जसमा एक सभापतिका लागि पाँच जना प्रतिस्पर्धामा थिए भने दुई उपसभापतिका लागि सात जनाको प्रतिस्पर्धा गरेका छन् । दुई महामन्त्रीका लागि छ जना र आठ सहमहामन्त्रीको लागि १९ जना प्रतिस्पर्धामा छन् ।
सभापतिको मतपरिणाम आएसँगै पदाधिकारीको मतपरिणामबारे चासो बढेको छ । चर्चित तथा शीर्ष नेताहरु फरक–फरक प्यानलबाट चुनावी मैदानमा प्रतिस्पर्धा गरेका कारण उनीहरुको परिणाम के हुन्छ भन्ने कौतुहलता बढेको हो । उपसभापतिमा महेश आचार्य, विजयकुमार गच्छदार, सुजाता कोइराला, पूर्णबहादुर खड्का, चन्द्र भण्डारी, धनराज गुरुङ र दिव्यश्वरी शाह चुनावी मैदानमा छन् । सात जना उपसभापतिमध्ये दुई जना मात्र निर्वाचित हुन्छन् ।
महामन्त्रीको प्रतिस्पर्धा झन् रोचक छ । महामन्त्रीमा चर्चित युवा नेताहरु गगन थापा, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल तथा डा. प्रकाशशरण महत र डा. मीनेन्द्र रिजालदेखि डा. राजाराम कार्कीसम्म प्रतिस्पर्धामा छन् । दुई महामन्त्रीमा यी अनुहारमध्ये को को आउने हुन् भन्ने कौतुहलता बढेको छ । पदाधिकारी र केन्द्रीय सदस्य निर्वाचित गर्न कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये ४ हजार ६ सय ७९ जनाले मतदान गरेका छन् । पदाधिकारी र केन्द्रीय सदस्यको १८ वटा मतपत्र भएकाले मत गणनामा केही दिन लाग्ने निर्वाचन समितिले जनाएको छ ।





