काठमाडौं,२८ मंसिर ।
नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि दोस्रो चरणको मतदान सुरु भएको छ ।
मंगलबार दिउँसो ३.३० बजेबाट मतदान सुरु भएको हो ।
मतदान सुरु भए लगत्तै प्रधानमन्त्री समेत रहेका सभापति उम्मेदवार शेरबहादुर देउवाले मतदान गरेका छन् ।
सभापति पदका लागि भएको दोस्रो चरणको मतदानमा प्रधानमन्त्री समेत रहेका देउवा र डा. शेखर कोइरालाबीच प्रतिस्पर्धा हुँदैछ ।
पहिलो चरणमा देउवाले २ हजार २५८ मत ल्याएका थिए भने अर्का प्रतिस्पर्धी कोइरालाले १ हजार ७०२ मत ल्याएका थिए ।
कुल चार हजार ६९१ मतमध्ये चार हजार ६७९ मत खसेको थियो ।
काँग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नुपर्ने प्राबधान छ ।
पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान सुरु भएको हो ।
पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । १४ औँ महाधिवेशनअन्तर्गत काँग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका लागि सोमबार मतदान भएको थियो ।





