बुटवल,२८ मंसिर
बुटवल स्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयले ६१ औ वार्षिकोत्सव सप्ताहब्यापी रुपमा मनाउने भएको छ ।

विद्यालयले जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता सहितका कार्यक्रम गरी ६१ औ वार्षिकोत्सव तथा अभिभावक दिवस सप्ताहब्यापी रुपमा मनाउने तयारी गरेको हो ।

मंगलबार विद्यालयले पत्रकार सम्मेलन गरि पुस १ गतेबाट ७ गतेसम्म खेल सप्ताह गरेर मनाउन लागेको जानकारी गराएको हो । जिल्लास्तरिय कालिका रनिङ शिल्ड प्रतियोगिता २०७८ को तयारी पूरा भएको प्रधानाध्यापक दिनेश थापाले जानकारी गराए ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयासहित शिल्ड, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि दोस्रो टिमले ३० हजार नगद, तेस्रो टिमलाई नगद २० हजार रुपैया सहित मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ ।

छात्रछात्रा गरि दुई विद्यामा गरि कक्षा १२ सम्मका विद्यार्थीहरुले भाग लिने उनले बताए। छात्रछात्रा गरि ज्यावलिङ थ्रो, लङजम्प, भलिबल, कबड्डि तथा एथलेटिक्स ट्याकतर्फ ८ सय, १ हजार ५ सय र ३ हजार मिटर गरि १६ ईभेन्टहरुमा खेल हुने खेल संयोजक हरिस वलीले बताए ।

कुल १६ स्वर्ण पदक, १६ कास्य र १६ रजत पदकका लागि प्रतिस्पर्धा हुने विद्यालयले जनाएको छ ।

प्रतियोगितामा ३० वटा विद्यालयका ४ सय ८० जना खेलाडीहरु र ६० जना प्रशिक्षकहरु सहभागी हुने छन ।

बार्षिकोत्सवकै अवसरमा विद्यालयको सेक्टर २ रामनगरमा खुल्ला ५ हजार मिटर दौड, कालिका गायनकला प्रतियोगिता, विज्ञान प्रविधि प्रर्दशनी लगायतका कार्यक्रम समेत आयोजना गरिएको प्रधानाध्यापक थापाले बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष होम बहादुर गलामीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विद्यालय सल्लाहकार समिति सदस्य तथा कालिका क्याम्पसका प्रमुख घनश्याम पाठक, नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचा,विद्यालय ब्यवस्थापन समिति सदस्य महेन्द्र थापा लगायतको सहभागिता रहेको थियो ।

विद्यालयमा ८ हजार विद्यार्थी अध्ययरत छन भने शिक्षक, कर्मचारी गरि ३ सय २० जना कार्यरत रहेका छन ।