काठमाण्डौ,२७ मंसिर ।
कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ संक्रमण बढेपछि बेलायतले स्वास्थ्य संकटकाल घोषणा गरेको छ ।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ओमिक्रोन संकटकाल घोषणा गर्दै सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

जोनसनले टेलिभिजनमार्फत सम्बोधन गर्दै ओमिक्रोनको सम्भावित लहरबाट बच्न सबैले सतर्कता अपनाउन आवश्यक रहेको बताएका छन् ।

सम्भावित खतरा रोक्न १८ वर्षमाथिका सबै नागरिकलाई खोपको ’बुस्टर’ डोज लगाइने पनि प्रधानमन्त्री जोनसनले बताए । बेलायतले यही हप्तादेखि १८ वर्षमाथिका सबैलाई बुस्टर डोज लगाउन सुरु गर्ने उनले जानकारी गराए ।

कोरोनाविरुद्धको खोपको बुस्टर डोजले कोरोना भाइरस नियन्त्रणमा ७५ प्रतिशतसम्म काम गर्ने वैज्ञानिकहरूले बताएका छन् । बेलायतमा केही हप्तादेखि दैनिक ५० हजारको हाराहारीमा नयाँ संक्रमित थपिइरहेका छन् । संक्रमण देखिएकामध्ये दैनिक पाँच सयको हाराहारीमा ओमिक्रोन पुष्टि हुने गरेको जनाइएको छ ।