काठमाण्डाै,२७ मंसिर । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि केहीबेरमा मतदान हुँदैछ । १४ औँ महाधिवेशन अन्तर्गत १३ जना पदाधिकारीसहित १ सय ३२ जना नेता चयन गर्न मतदान हुन लागेको हो ।
बेलुकी पाँच बजेसम्म मतदान चल्ने कांग्रेसको निर्वाचन समितिले जनाएको छ । मतदानका लागि तीन ठाउँमा मतदान केन्द्र राखिएको छ । यस्तै, मतदानका लागि प्रतिनिधिहरु लाइनमा बसेका छन् । उम्मेदवारहरु प्रतिनिधि उभिएको लाइनमै पुगेर भोट माग्ने क्रम चलिरहेको छ ।
राष्ट्रिय सभागृहमा पार्टी केन्द्रीय कार्यसमिति, जनसम्पर्क समिति, भ्रातृ/शुभेच्छुक संघसंस्था, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको छ । त्यसैगरी भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नम्बर २ र गण्डकी प्रदेशका प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था गरिएको छ ।
भृकुटीमण्डपको हलमा प्रदेश नम्बर १, वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । चुनावमा २९ प्रकारका मतपत्रको व्यवस्था गरिएको छ ।सभापतिमा वर्तमान सभापति शेरबहादुर देउवा, नेता डाक्टर शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ चुनावी मैदानमा छन् ।
मुख्य प्रतिस्पर्धा भने देउवा र कोइरालाबीच हुने निश्चित छ । कांग्रेस विधानअनुसार, सभापतिमा विजयी हुन ५ प्रतिशत मत कटाउनुपर्छ । कुनै उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेमा दोस्रो चरणमा सबैभन्दा बढी मत ल्याउने दुई उम्मेदवारबीच दोस्रो चरणको प्रतिस्पर्धा हुन्छ ।
पहिलो चरणबाटै विजयी हुनेमा देउवा समूह आशावादी छ । छुट्टाछुट्टै प्यानल बनाएका कोइराला, सिंह र निधिले भने चुनावलाई दोस्रो चरणमा लैजाने नीति लिएका छन् । दोस्रो चरणमा पुर्याउन सकेमा सबै एक ठाउँमा उभिएर देउवामाथि दबाब बढाउन सकिने उनीहरुको बुझाइ छ ।





