बुटवल,२६ मंसिर ।
बुटवलमा सञ्चालन भएको अन्तरपालिका उपमेयर कप महिला भलिबलको उपाधि आयोजक बुटवल उपमहानगरले हातपारेको छ ।
आइतबार बुटवल–११ देविनगर स्थित नबिन औद्योगिक माविमा भएको फाइनल प्रतिस्पर्धामा तिलोत्तमा नगरपालिकालाई ३–० को सोझो सेटमा पछि पार्दै बुटवलले उपाधी हातपार्न सफल भएको हो ।
बुटवलले २५–१४, २५–२० र २५–१९ को साझो सेटमा तिलोत्तमालाई पराजित गरेको थियो । उपाधिसँगै बुटवलले नगद १ लाख ५० हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरि उपविजेता तिलोत्तमाले नगद ७५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रमा चित्त बुझायो ।
प्रतियोगितामा तृतीय हुन सफल भएको बेनी नगरपालिकाले नगद ३५ हजार रुपैयाँ तथा चौथौ स्थान हाशील गर्न सफल भिमदत्त नगरपालिकाले नगद १५ हजार रुपैया, कप, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
बुटवलकी आरती सुवेदी प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै नगद ५ हजारसहित सम्मानित भएकी छन् । लिग कम नकआउटको आधारमा खेलाइएको प्रतियोगितामा वेष्ट ब्लकर भिमदत्त नगरपालिकाकी भागिरथि जोशी, वेष्ट सर्भर तिलोत्तमाकी निर्मा सारु, वेष्ट सेटर बुटवलकी जसना महतो, वेष्ट लिबरो बुटवलकी यमकलि कुंवर र वेष्ट स्पाईकरबाट बुटवलकी भावना डाँगी पुरस्कृत भए ।
प्रतियोगितामा आयोजक बुटवल उपमहानगरपालिकासहित भिमदत्त नगरपालिका महेन्द्रनगर, टिकापुर नगरपालिका कैलाली, कोहलपुर नगरपालिका, विरेन्द्रनगर नगरपालिका सुर्खेत, तिलोत्तमा नगरपालिका, बेनी नगरपालिका म्याग्दी, पोखरा महानगरपालिका, सैनामैना नगरपालिका, वाणगंगा नगरपालिका गरि १० टिमको सहभागिता रहेको थियो ।
कार्यक्रममा बुटवल उपमहानगरपालिकाका कार्यबाहक नगरप्रमुख तथा वडा नं ४ का वडा अध्यक्ष टंक पराजुली, तिलोत्तमा नगरपालिका प्रमुख बासुदेव घिमिरे, उपप्रमुख जगेश्वरीदेवी चौधरी, बुटवल–१ का अध्यक्ष महेन्द्र लिगल, ११ का अध्यक्ष रामचन्द्र क्षेत्री, जिल्ला भलिबल संघका उपाध्यक्ष सुरेन्द्र शाक्य, बुटवल उपमहानगर खेलकुद परिषदका अध्यक्ष नन्दु काउचा, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज गौचन, समाजसेवी टेक बहादुर थापा, खेल संयोजक अर्जुन घिमिरेले बोल्दै शुभकामना व्यक्त गरेका थिए ।








