बुटवल,२६ मंसिर ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. २ योगिकुटीमा रहेको तिलोत्तमा माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षामा नेपाल प्रथम र द्धितिय स्थान हासिल गर्न सफल भएको दाबी गरेको छ ।
२०७८ सालको राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको कक्षा १२ को वार्षिक परीक्षामा विद्यालयबाट सम्मिलित २ विद्यार्थी नेपाल प्रथम भएको र एक विद्यार्थी दोश्रो भएको विद्यालयले जानकारी दिएको हो ।
विद्यालयका विक्रम तिवारीले ३.९२ र क्रिसला लामाले ३.९२ अंक ल्याएर नेपाल प्रथम र असीम भण्डारीले ३.८६ अंक ल्याएर नेपाल दोश्रो भएको विद्यालयले दाबी गरेको छ ।
प्रथम हुने तिवारी र लामा ब्यवस्थापन र दोश्रो हुने भण्डारी बिज्ञान विषयका विद्यार्थी हुन । यस्तै सोही विद्यालय कै आकाश खनाल, आकृती खनाल,आसिश कँडेल, अनुराग अर्याल, अश्विन थापा, विवेक भुषालले ३.८५ अंक प्राप्त गरेको विद्यालयले जनाएको छ ।
आज विद्यालयले एक कार्यक्रमको आयोजना गरि उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई सम्मान गरेको हो । विज्ञान विषयमा अब्बल मानिएको तिलोत्तमा मावि पछिल्लो समय ब्यवस्थापन विषयमा समेत अब्बल साबीत भएको छ ।
कक्षा १२ को परीक्षामा सम्मिलित ७ सय ६० जना परीक्षार्थीमध्ये ७ सय ५३ जनाले ३ ग्रेडभन्दा माथिको अंकसहित शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको विद्यालयका प्रधानध्यापक डाक्टर रामचन्द्र आचार्यले जानकारी दिए ।
हरेक विषयमा अध्यापनरत दक्ष, अनुभवी र तालिम प्राप्त अध्यापकहरुको कूशल अध्यापन कलाकै कारण विद्यालयले शतप्रतिशत नतिजा ल्याउँन सकेको उनले बताए ।
सम्मान कार्यक्रममा तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरेले अभिभावकको नियमित चासो र विद्यार्थीलाई घरमा पठनपाठनको वातावरण सिर्जना गर्न सके उत्कृष्ट नतिजा हासिल गर्न सकिने बिश्वास ब्यक्त गरे ।
उनले विद्यार्थीको मेहनत, लगनशिलताबाट नै विद्यार्थी र विद्यालयले उत्कृष्ट नतिजा ल्याएको बताउँदै तिलोत्तमा नगरपालिका शैक्षिक क्षेत्रमा पनि अघि बढेको दाबी गरे ।
राज्यले शिक्षा क्षेत्रमा अरबौं लगानी गरेपनि गुणस्तरीय शिक्षा दिन नसकेको बताउदै उनले निजी विद्यालयले कसरी उत्कृष्ट नतिजा ल्याउँन सक्छन भन्ने नीतिमा आफुहरुले अध्ययन गरिरहेको बताए ।
सुनवल नगरपालिकाका उपप्रमुख दधिराम अर्यालले रुपन्देही जिल्ला शिक्षा क्षेत्रमा अब्बल बन्दै गएको बताए । गुणस्तरिय शिक्षाको लागि काठमाण्डौंनै जानुपर्छ भन्ने मान्यतालाई रुपन्देहीका विद्यालयले तोड्न सफल भएको उनको भनाई छ ।
राष्ट्रिय परीक्षा बोर्ड लुम्बिनी प्रदेशका उपसचिब रमाकान्त तिवारीले अहिलेको नतिजाले तिलोत्तमा मावि बिज्ञान विषयमा मात्र नभएर ब्यवस्थापन विषयमा पनि अब्बल सावित भएको बताए ।
सर्वाेकृष्ट अंक प्राप्त गर्न सफल विद्यार्थी विक्रम तिवारीले बिज्ञान संकायमा अब्बल साबित हुँदै आएको तिलोत्तमा मावि पछिल्लो समय ब्यवस्थापन विषयमा पनि अब्बल रहेको नतिजाले पुष्टि गरेको बिचार ब्यक्त गरे ।
गुणस्तरीय शिक्षका लागि काठमाण्डौं धाउनु नपर्ने बताउँदै उनले गुरुबाट सिक्ने र आफै पढ्ने बानीको विकास गर्न सके उत्कृष्ट अंक प्राप्त गर्न सकिने बताए ।
तिलोत्तमामा अहिले पोखरा विश्वविद्यालय अन्तरगतका विविएका कार्यक्रम सञ्चालन हुँदै आएको छ ।







