काठमाडौं,२५ मंसिर ।
नेपाली कांग्रेस १४औँ महाधिवेशन अन्तर्गत १३ पदाधिकारीका लागि ३८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

शनिबार बिहान ११ बजेपछि साँझ ५ बजेसम्म सभापति एक, उपसभापति दुई, महामन्त्री दुई, सहमहामन्त्री आठसहित १३४ सदस्य पदका लागि मनोनयन दर्ताका लागि समय निर्धारण गरिएको थियो ।

अपरान्ह पौने ५ बजेसम्ममा १३ पदाधिकारीका लागि ३८ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

मनोनयनका लागि दिएको समयमा सभापतिमा शेरबहादुर देउवा, शेखर कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ र युवराज न्यौपानेले उम्मेदवारी दर्ता गरेका छन् ।

उपसभापतिमा पूर्णबहादुर खड्का, विजयकुमार गच्छदार, धनराज गुरुङ, चन्द्र भण्डारी, महेश आचार्य, दिव्यश्वरी साह र सुजाता कोइरालाले उम्मेदवारी दिएका छन् ।

यसैगरी महामन्त्री प्रकाशशरण महत, प्रदीप पौडेल, मिनेन्द्र रिजाल, गगनकुमार थापा, विश्वप्रकाश शर्मा र राजाराम कार्कीले उम्मेदवारी दिएका छन् ।

सहमहामन्त्रीमा मानबहादुर विश्वकर्मा, बद्री पाण्डे, फरमुल्लाह मन्सुर, सुरेन्द्रप्रसाद चौधरी, देवराज चालिसे, रञ्जित कर्ण, रामकृष्ण यादव, कमल पन्त, तेजुलाल चौधरी, किशोरसिंह राठोर, विकास लामा, जीवन परियार, गंगा सुनार, महेन्द्र यादव, भिष्मराज आङ्दम्बे, जीवनबहादुर शाही, चेतराज बजाल, शेष वकिल र उमाकान्त चौधरीले उम्मेदवारी दर्ता गरेका छन् ।

१२१ केन्द्रीय सदस्यका लागि ५०९ जनाको उम्मेदवारी दर्ता
नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनबाट केन्द्रीय सदस्य बन्न ५०९ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

खुलासहित १८ कलस्टरबाट निर्वाचनमार्फत १२१ जना निर्वाचित गरिने कांग्रेसको विधानमा उल्लेख छ । थारू कलस्टरबाट निर्वाचित हुने दुई महिलासहित चार सदस्यका लागि १४ जनाको उम्मेदवारी परेको छ भने खुलातर्फबाट निर्वाचित हुने ३५ जनाका लागि १०९ जनाको उम्मेदवारी परेको छ ।

मधेशी कलस्टरबाट निर्वाचित हुने चार महिलासहित नौ सदस्यका लागि ३२ जनाको उम्मेदवारी परेको छ ।

सात महिलासहित १५ जनाको कोटा रहेको आदिवासी जनजाति कलस्टरमा ८७ जनाको उम्मेदवारी परेको छ भने ६ महिलासहित १३ जनाको कोटा रहेको खसआर्य कलस्टरमा ९३ जनाको उम्मेदवारी परेको छ ।

चार महिलासहित नौ दलित सदस्यका लागि ३९ जना, खुलातर्फ नौ महिला कोटाका लागि ३१ र एक पिछडिएको क्षेत्रका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

अपांगता भएका व्यक्तिको एक जनाको कोटामा १६ जनाको उम्मेदवारी परेको छ भने एक जनाकै कोटा रहेको अल्पसंख्यकमा ६ जना र एक महिलासहित तीन जनाको कोटा रहेको मुस्लिम कलस्टरबाट १६ जनाकाृे उम्मेदवारी परेको छ ।

भौगोलिक क्षेत्रबाट सात प्रदेशबाट महिलासहित २१ जनाको प्रतिनिधित्व हुनुपर्नेमा प्रदेश १ बाट १३ जना, प्रदेश २ बाट पाँच जना, बाग्मती प्रदेशबाट नौ जना, गण्डकीबाट सात जना, लुम्बिनीबाट ११ जना, कर्णालीबाट सात जना र सुदूरपश्चिम प्रदेशबाट १२ जनाको उम्मेदवारी परेको छ ।