काठमाण्डौ,२४ मंसिर ।
नेपालमा शुक्रबार थप २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन गरी १० हजार ४८७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४६ प्रतिशत अर्थात् २५९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप ३३७ जना कोरोना संक्रमित निको भएका छन भने तीन जना संक्रमितको मृत्यु भएको छ ।

नेपालमा हालसम्म आठ लाख ६ हजार २२३ जना कोरोना संक्रमित निको भएका छन भने ११ हजार पाँच सय ५२ संक्रमितको मृत्यु भएको छ ।
कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या नेपालमा ६ हजारभन्दा तल झरेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ९९७ मा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैबीच पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार ३२१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । हिजो पनि तीन लाख ३७ हजार जनाभन्दा धेरैले खोप लगाएका थिए ।

सरकारले १८ वर्षमाथिका सबै नागरिकलाई खोप लगाउन आह्वान गर्दै खोप अभियानलाई तीव्र बनाएको छ ।

नेपालमा कोरोनाविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाउनेको संख्या एक करोड १० लाख ६६ हजार चार सय ६४ जना पुगेको छ । उनीहरूमध्ये ९१ लाख ६८ हजार तीन सय ५८ जनाले पूर्ण मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।