काठमाडौं,२३ मंसिर ।
पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने सम्भावना देखिएको छ ।

अब पूर्वमहामन्त्री प्रकाशमान सिंह सहमत भए रामचन्द्र पौडेल साझा उम्मेदवार बन्ने सम्भावना देखिएको नेपाली कांग्रेसका एक नेताले जानकारी दिए ।
पौडेल समूहबाट १४ औं महाधिवेशनमा सभापतिका चार आकांक्षी छन्, रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला ।

महामन्त्री डा. शशांक कोइरालाले सोमबारकै छलफलमा साझा उम्मेदवार बन्दा आफू दाबी छोड्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता पौडेलले प्रकाशमान सिंह र शेखर कोइरालाबीच एक जनाको नाममा सहमति भए मान्ने, नभए आफूलाई समर्थन गर्न आग्रह गरेका छन् ।

तर पूर्वमहामन्त्री सिंह र केन्द्रीय सदस्य कोइरालाबीच अहिलेसम्म कुनै सहमति हुन सकेको छैन । आकांक्षीहरुबीच सहमति हुन नसकेपछि पौडेल समूहका केन्द्रीय सदस्यहरुले साझा उम्मेदवार छान्ने अधिकार आफूहरुलाई दिन माग गरेका छन् ।

‘यदि प्रकाशमान सहमत हुनुभयो भने रामचन्द्र पौडेल साझा उम्मेदवार बन्नुहुन्छ, नभए साझा उम्मेदवार बनाउने प्रयास सकिन्छ,’ –छलफलहरुमा सहभागी एक नेताले भने ।
सभापतिका चार आकांक्षीलाई नबोलाइएको बिहीबारको एक बैठकमा केन्द्रीय सदस्यहरुबीच विभिन्न विकल्पमा छलफल भएको थियो । एउटै उम्मेदवार तय नगर्दासम्म जित्ने सम्भावना नरहेको तथा सिंह र कोइराला दुबैले अडान नछाडेको अवस्थामा वरिष्ठ नेता पौडेल नै साझा उम्मेदवार हुनसक्ने नेताहरुको विश्लेषण छ ।

बैठकपछि केन्द्रीय सदस्यहरुको प्रतिनिधिका रुपमा अर्जुनरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य, पूर्वमहामन्त्री प्रकाशमानलाई भेट्न उनको निवास चाक्सीबारी पुगेका थिए । तर सिंहले आफ्नो नाममा सहमति हुनुपर्ने अडान राखेका छन् ।

अर्को टोलीले डा. शेखर कोइरालासँग पनि सम्वाद गरेका थिए, उनी भने सकारात्मक देखिएको बताइएको छ ।

तर पूर्वमहामन्त्री सिंह पौडेललाई मान्न सहमत भएनन् भने के हुन्छ भन्ने अझै प्रष्ट भइसकेको छैन ।

यद्यपि त्यो अवस्थामा नेता पौडेलले चुनाव लड्ने सम्भावना कम देखिएको नेताहरु बताउँछन् । किनकी उनले सभापतिका अरु आकांक्षीलाई नउठ्नुस् भन्न सक्दैनन् र जित्ने सम्भावना पनि कम रहन्छ ।

यदि साझा उम्मेदवार तय हुन सकेन र वरिष्ठ नेता पौडेल उठेनन् भने यो समूहबाट प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार हुन सक्ने बताइएको छ ।