काठमाडौं,२३ मंसिर ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।
जागिरे जीवनमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँ बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

थपलिया अर्थ मन्त्रालयल मातहतका विभिन्न निकायमा रहँदा २ करोड ६७ लाख ७१ हजार ९५८ रुपैयाँ आर्जन गरी लगानी गरेको देखिएको र उक्त रकममध्ये १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २५८ रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ ।

थपलियाले उक्त सम्पत्ति गैरकानुनी ढङ्गले आर्जन गरेको पुष्टि हुन आएको भन्दै सार्वजनिक पद धारण गरेका उद्धवप्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ ।

सोही दफाअनुसार थपलियालाई १ करोड ६४ लाख ८९ हजार सातसय रूपैयाँ बिगो कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम सजाय मागदावी गरिएको छ । साथै स्रोत नखुलेको सम्पत्ति जफत गर्नसमेत अख्तियारले माग गरेको छ ।

त्यस्तै थपलियाले गैरकानुनी ढङ्गले आर्जन गरेको सम्पत्ति श्रीमती मुना पन्त थपलियाको नाममा समेत राखेको पाइएको र घरजग्गासमेत श्रीमतीको नाममा राखेको कारण जफत गर्ने प्रयोजनका लागि मुना पन्त थपलियालाई समेत प्रतिवादी बनाइएको छ ।