काठमाण्डौ,२२ मंसिर ।
हेलिकप्टर दुर्घटनामा भारतका पहिलो चिफ अफ डिफेन्स स्टाफ (सीडीएस) का जनरल बिपिन रावत सहित १३ जनाको निधन भएको छ ।

तमिलनाडुमा भएको हेलिकप्टर दुर्घटनामा जनरल रावत र उनकी पत्नी मधुलिका सहित १३ जनाको निधन भएको हो ।

भारतीय वायु सेनाले ट्वीट गर्दै यसको जानकारी दिएको हो ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा १४ जना सवार रहेकामा १३ जनाको मृत्यु भएको हो । सीडीएस बिपिन रावत सवार हेलिकप्टर तमिलनाडुको कुन्नूरमा दुर्घटना भएको थियो ।

दुर्घटनामा अधिकांश शवहरु जलेका छन् ।

भारतीय वायु सेनाका अनुसार यो एमआई–१७बी ५ हेलिकप्टर थियो ।

रक्षा मन्त्री राजनाथ सिंहले आज दिउँसो नै बिपिन रावतको घर पुगेर उनको परिवारसँग भेट गरेका थिए । त्यसपछि सेनाध्यक्ष मनोज मुकुन्द नरवणे पनि बिपिन रावतको घर पुगेका थिए ।

जनरल रावत सन् २०२० को जनवरी १ मा देशको पहिलो चिफ डिफेन्स अफ स्टाफ नियुक्त भएका हुन् ।

हेलिकप्टर दुर्घटनाको कारण पत्ता लगाउन जाँचको आदेश दिइएको वायु सेनाले जनाएको छ ।