काठमाडौं,२२ मंसिर ।
लुम्बिनीका ३ सहित १५ कलेजलाई नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदले निर्देशन दिएको छ ।

सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले एक सूचना जारी गरी शैक्षिक सत्र २०७८–०७९ का लागि नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन लुम्बिनीका ३ सहित १५ कलेजलाई निर्देशन दिएको हो ।

भर्ना लिन नपाउने कलेजहरुमा रुपन्देहीको देवदह स्थित देवदह मेडिकल कलेज,पाल्पाको लुम्बिनी मेडिकल कलेज,नेपालगञ्ज नर्सिंङ्ग कलेज लगायत १५ कलेज रहेका छन् ।

ती कलेजले नर्सिङको प्रमाणपत्र तहमा पढाइ सञ्चालन गर्नु चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णयको प्रतिकुल हुने सीटीईभीटीले जनाएको छ ।

त्यस्तै ती कलेजले प्रमाणपत्र तहको नर्सिङमा भर्नाका लागि विद्यार्थीबाट लिएको शुल्क पनि फिर्ता गर्नुपर्ने सीटीईभीटीले जनाएको छ ।