बुटवल,२२ मंसिर ।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले मुलुकको समृद्धिका लागि आर्थिक अनुशासन जरुरी रहेको बताएका छन् ।
प्रदेश प्रशिक्षण प्रतिष्ठान लुम्बिनी प्रदेशद्धारा बुधबार बुटवलमा आयोजित जिल्ला समन्वय समिति प्रमुख तथा जिल्ला समन्वय अधिकारीहरुका लागि ‘स्थानीय तहको वित्तीय सुशासन र मुल्याङ्कन’ सम्बन्धी अभिमुखीकरण कार्यक्रममा मन्त्री खड्काले मुलुकको समृद्धिका लागि वित्तीय सुशासन जरुरी भएको बताएका हुन् ।
सिंहदरबारको अधिकार गाउमा ल्याउने उदेश्यले संविधानमा तीन तहको सरकारको व्यवस्था गरिएको भन्दै मन्त्री खड्काले सिंहदरबारको अधिकार बास्तविक रुपमा गाउमा आयो कि आएन भनेर अब समिक्षा गर्नुपर्ने बेला आएको उनको भनाई छ ।
तीन तहका सरकारमध्ये संघीय र प्रदेश सरकार संसदप्रति जवाफदेही हुनुपर्ने भए पनि स्थानीय तह को प्रति जवाफदेही हुने भन्ने प्रश्ट ब्याख्या नहुँदा तुलनात्मक रुपमा स्थानीय तहमा आर्थिक अनुशासन कायम हुन नसकेको भन्दै उनले बितरणमुखी भन्दा पनि प्रतिफल दिने खालका योजना बनाउनुपर्नेमा जोड दिए ।
संघीयता भनेको आफ्नो खुट्टामा आफै उभिने भन्ने हो भन्दै मन्त्री खड्काले प्रदेश र सस्थानीय तहले आफ्नै खुट्टामा उभिनसक्ने खालका आर्थिक नीति बनाएर अगाडी बढ्नुपर्ने आवस्यकता औल्याए ।
प्रदेश प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक गुरुप्रसाद शर्माको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिति महासंघ लुम्बिनी प्रदेश अध्यक्ष मीरा मरासिनी,मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयका सचिब नरेन्द्र कुमार राना मगर,प्रतिष्ठानका उप निर्देशक रामु जोशी,प्रतिष्ठानकै अधिकृत कृष्ण बहादुर बिष्ट लगायतले कार्यक्रमको महत्व र औचित्यबारे आ आफ्नो भनाई राखेका थिए ।






