काठमाण्डौं,२१ मंसिर ।
नेपाली काँग्रेसका महामन्त्री शशांक कोइरालाले सभापतिको दाबी छोडेका छन् ।
मंगलबार दिउँसो प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको रामचन्द्र पौडेल पक्षीय नेताहरूको बैठकमा कोइरालाले सभापतिको दाबी छाड्न तयार भएका हुन् ।
पौडेलको आग्रहमा आफूले सभापतिको दाबी छोडेको कोइरालाको भनाइ छ ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले अरु तीन जनामध्ये कुनै एक जनामा सहमति भए आफु सभापतिको दौडबाट पछि हट्न तयार भएको प्रतिक्रिया दिए ।
तर शेखर कोइराला र प्रकाशमान सिंह भने सभापतिको दाबी छाड्ने पक्षमा नरहेको कोइरालाको भनाइ छ ।
भोलि बिहानसम्म साझा उम्मेदवार तय गर्नुपर्ने कोइरालाको जोड छ ।
उता नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बुधबार (भोलि) साँझसम्म आफ्नो समूहबाट सभापतिको साझा उम्मेदवार तय गर्ने दाबी गरेका छन् ।
साझा उम्मेदवार चयन गर्ने बिषयमा मंगलबार प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको छलफलपछि पौडेलले भोलि साँझसम्म साझा उम्मेदवार सार्वजनिक गर्ने बताएका हुन् ।
पौडेलले आफ्नो समूहबाट साझा उम्मेदवार तय हुनेमा विश्वस्त हुन पनि आग्रह गरे । पौडेलले भने ‘अबको चुनौतीको सामना कसरी गर्ने र महाधिवेशनमा कसरी पार्टी जोगाउन सफल हुन्छौँ भनेर हामी एउटा निष्कर्षको नजिक नजिक पुगेका छौँ ।’
‘साझा उम्मेदवार चयनका लागि विभिन्न कोणबाट छलफल गरेका छौं । हामी सहमतिको करिब नजिक नजिक छौँ । केही प्रक्रिया पुरा गर्न बाँकी छ । त्यो प्रक्रिया पुरा गरेर भोली साझसम्म साझा उम्मेदवार सार्वजनिक गछौ’–पौडेलले भने ।
पौडेल समूहमा पौडेल, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंहको सभापतिमा दाबी छ । आजको बैठकमा महामन्त्री कोइरालाले आफू सभापतिको दाबी छोड्न तयार रहेको बताएका छन् । यस्तै वरिष्ठ नेता पौडेलले पनि साझा उम्मेदवार बनाउने विषयमा आफू बाधक नहुने बताएका छन् ।
पौडेल पक्षको भोलि बिहान ९ बजे आफू पक्षीय केन्द्रीय सदस्य, निर्वाचित जिल्ला सभापति, प्रदेश सभापति, प्रदेश सभापतिका प्रत्यासीसहितको बैठक बस्ने र सो बैठकले साझा उम्मेदवार तय गर्ने नेता बद्री पाण्डेले बताए ।