बुटवल,२० मंसिर । राजस्व अनुसन्धान विभागले राजश्व छलिगरेकाे आराेपमा दुई कवाड व्यवसायी बिरूद्व मुद्दा उच्च अदालत तुलसीपुर बुटवल इजलासमा मुद्दा दायर गरेको छ ।
रूपन्देहीको सम्मरीमाई गाउँपालिका–६ स्थायी ठेगाना भएका कशौधन कबाड सप्लायर्स (स्थायी लेखा नम्बर ३०५१४३०२४) का प्रोपाईटर ३२ वर्षिय प्रमोद कुमार गुप्ता र गोविन्द कुमार कसौधन समेतको नाममा ४४ करोड ७३ लाख ८५ हजार ९५८ रुपैयाँ सजाय माग दावीसहित राजस्व अनुसन्धान कार्यालय बुटवलबाट उच्च अदालतमा मुद्दा दायर गरेको हो ।
राजश्व अनुसन्धान कार्यालयले आईतबार एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त फर्मले राजस्व चुहावट गर्ने मनसायले अन्य फर्मको नामबाट सामान खरिद गरि उक्त समान बिभिन्न ब्यक्तिहरुलाई बिक्रि गरि सोको लेखांकन नगरि मूल्य अभिवृद्धि कर तथा आयकर छली गरेको आरोप लगाएको छ ।

राजस्व अनुसन्धान (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ को दफा ३ ले निषेधित सोही ऐनको दफा ४ (क), (ख) (ज) र (झ) बमोजिमको कसुर पुष्टि भएकोले सोही २ (छ १)ले हुन आउने मूल्य अभिवृद्धि कर तर्फ ६ करोड ३१ लाख ४८ हजार २ सय ६६ रुपैया र आयकर तर्फ १६ करोड ५ लाख ४५ हजार २ सय १३ रुपैया समेत गरि २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैया विगो असुल उपर हुने गरि मुद्दा दायर गरेको हो ।

यस्तै विगो बराबर नै शत प्रतिशत २२ करोड ३६ लाख ९३ हजार ४ सय ७९ रुपैया गरि जम्मा ४४ करोड ७३ लाख ८५ हजार ९५८ रुपैयाँ र ३ बर्ष सम्मको कैद सजायको मागदावी सहित मुद्दा दायर गरिएको छ ।