बुटवल,१९ मंसिर ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले योजना सफल बनाउन नीतिगत सुधार आवस्यक रहेको बताएका छन् ।

नीतिगत रुपमा भएका कमी कमजोरीका कारण निर्धारीत समयमा योजना सम्पन्न नहुने र सुरुको लागत अनुमानभन्दा ६ गुणासम्म लागत बढ्ने गरेको भन्दै मुख्यमन्त्री केसीले नीतिगत सुधार आवस्यक रहेको बताए ।
लुम्बिनी प्रदेश योजना आयोगद्धारा बुटवलमा आयोजित दुई दिने योजना सम्मेलन २०७८ को उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले समयमै योजना सम्पन्न गर्न र अनावस्यक लागत बढ्न नदिन नीतिगत सुधार आवस्यक रहेको बताएका हुन् ।
जनप्रतिनिधि तथा राजनीतिक दल,कर्मचारी संयन्त्र र तीनै तहका सरकारबीच सहमति,सहकार्य र समन्वय गरेर अगाडि बढेमात्रै योजना सफल हुने भन्दै उनले प्रदेश सरकार त्यसका लागि तयार रहेको बताए ।
मुलुकमा राजनीतिक परिवर्तन भए पनि आम नेपाली जनताले त्यसबाट आशातित लाभ लिन नसकेको भन्दै मुख्यमन्त्री केसीले एक अर्कालाई दोषारोपण गरेर उम्कने छुट कसैलाई नभएको बिचार ब्यक्त गरे ।
सुन्दा आनन्द लाग्ने राम्रो भाषण गरेर र कागजि रुपमा राम्रा योजना बनाएर मात्रै केही नहुने भन्दै उनले अब जनताले परिवर्तनको अनुभूती गर्नेगरी परिणममुखी काम गरेर देखाउने बेला आएको बताए ।
हामिले बनाएका योजनाहरु किन सफल भएनन् भन्ने बिषयमा निर्ममतापूर्वक समिक्षा गर्न जरुरी रहेको भन्दै उनले कहाँ के कति कमि कमजोरी भएकाछन् त्यसमै प्रहार गर्नुपर्ने आवस्यकता औल्याए ।
उचित वित्त ब्यवस्थापननै मुलुकको समृद्धिको आधार भएको बताउदै मुख्यमन्त्री केसीले जनताको आवस्यकता र औचित्यताको आधारमा वीत्तीय व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।
प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षत्रीको अध्यक्षता भएको कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्का,राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.विश्वनाथ पौडेल,राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह,राष्ट्रिय योजना आयोगका सचिब केवल प्रसाद भण्डारी, गण्डकी प्रदेश योजना आयोगका उपाध्यक्ष डा. रघुराम काफ्ले,प्रदेश नं २ का प्रदेश योजना आयोगका उपाध्यक्ष डा.भोगेन्द्र झा, लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल, लुम्बिनी प्रदेश सरकारका प्रमुख सचिब डिल्लीराम शर्मा लगायतले आ आफ्नो भनाई राखेका थिए ।
राष्ट्रिय योजना आयोग र सातै प्रदेशका योजना आयोगका पदाधिकारी,सचिब तथा अधिकारीहरुको सहभागिता रहेको योजना सम्मेलनमा राष्ट्रिय योजना आयोगका सचिब केवल प्रसाद भण्डारीले ‘प्रादेशिक योजना तथा बजेट तर्जुमा,परियोजना बैंक र सम्भाव्य लगानीका क्षेत्रहरु,तहगत समन्वय: समस्या,चुनौती र भावी कार्यदिशा’ बिषयक प्रस्तुती गरेका थिए ।
सो अवसरमा राष्ट्रिय योजना आयोगबाट निर्माण भएको एमटीइएफ,परियोजना बैंक र वीत्तीय हस्तान्तरण सम्बन्धी विद्युतीय प्रणाली सबै प्रदेश योजना आयोगहरुलाई हस्तान्तरण गरिएको थियो ।






