बुटवल,१८ मंसिर ।

दिगो अर्थतन्त्रको विकासका लागि स्थानीय हस्तकलाका उत्पादनलाई प्रवद्र्धन गर्ने गरि निति बनाउन सरकारलाई सरोकारवालाहरुले सुझाव दिएका छन ।
स्वच्छ व्यवसायी समूह नेपाल र जागरण मिडिया सेन्टरले शुक्रबार बुटवलमा आयोजना गरेको महिला र युवा उद्यमशिलता बिषयक संवाद कार्यक्रममा सहभागीहरुले स्थानीय स्तरमा उत्पादन भएका हस्तकलाका उद्योगहरुको प्रवद्र्धन र उत्पादनलाई बजारीकरण गर्ने गरि निति बनाउन सुझाव दिएका हुन ।
लुम्बिनी प्रदेशका सांसद र सरोकारवालाहरुको उपस्थितीमा भएको छलफलमा आर्थिक रुपमा पछाडि पारिएका समुदायद्धारा उत्पादीत बस्तुको प्रयोगलाई बढावा दिनुपर्नेमा उनीहरुको जोड थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद कमलादेवी विश्वकर्माले हस्तकला तथा स्थानीय रुपमा उत्पादन गर्ने उद्योगहरुको प्रवद्र्धन गर्ने गरि सरकारले बजेट ल्याउनुपर्ने बताईन । उनले प्रदेशसभामा आफूहरु सांसदको हिसाबले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने गरि निति निर्माणमा सहयोग गर्ने बताईन ।
अर्का प्रदेशसभा सदस्य गीता थापाले यस्ता छलफल बजेट निर्माण हुनुभन्दा अघि हुँदा त्यसको प्रभावकारिता हुने बताईन । त्यसैगरि प्रदेशसभा सदस्य दीपा विश्वकर्माले स्वच्छ व्यवसाय प्रवद्र्धनका लागि प्रदेश सांसदको हिसाबले आफू सदैव तत्तपर रहेको बताईन । अर्का सांसद भगवतीदेवी भण्डारीले आफूहरु महिला र युवाहरुलाई उद्यमशिलतामा जोड्नका लागि तत्पर रहेको प्रतिबद्धता जनाईन ।
साे अवसरमा लुम्बिनी प्रदेश योजना आयोगका सदस्य डा. दामोदर भुसालले स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने गरि सरकार काम गर्न तयार रहेको बताए ।

उक्त छलफलमा स्वच्छ व्यवसायी समूह नेपाल (फेयर ट्रेड नेपाल) का अध्यक्ष सुनिल चित्रकारले आफूहरुले स्वदेशी उत्पादनलाई बजारीकरण, सिप विकास जस्ता क्षेत्रमा काम गरेको बताए । उक्त अवसरमा फेयर ट्रेड नेपालका सचिव रेभिात श्रेष्ठ, सिद्धार्थ सामाजिक विकास केन्द्रका पोमनारायण पौडेल,नेपाल घरेलु तथा साना उद्योग महासंघ रुपन्देहीका अध्यक्ष धु्रव कुमार धिताल, सचिव दीपक खनाल, फेयर ट्रेड नेपालका निर्देशक श्रद्धा थापा लगायतले बोल्दै हस्तकलालाई प्रर्वद्धन, संरक्षण र बजारीकरणमा सरकारले नितिगत तथा कार्यक्रमका हिसाबले सम्बोधन गर्नुपर्ने बताएका थिए । फेयर ट्रेड नेपालका सचिव रेभिात श्रेष्ठले कार्यपत्र प्रस्तुत गरेकी थिईन ।
पत्रकार प्रकाश घिमिरेले सहजीकरण गरेको संवाद कार्यक्रममा जागरण मिडिया सेन्टरका तर्फबाट विनोद परियारले धन्यवाद ज्ञापन गरेका थिए ।