विप्लवले धोका दिएको आराेप
काठमाडौ,१५ मंसिर ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी पनि फुटेको छ ।
सो पार्टीबाट बिद्रोह गरि केही नेता कार्यकर्ताहरूले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) घोषणा गरेका हुन् ।
नेपालकाे पुरानो कम्युनिस्ट पार्टी नेकपा (मसाल) मा समानान्तर कमिटी गठन भएको अर्को दिन विप्लव नेतृत्वको नेकपा पनि विभाजन भएको सार्वजनिक भएको हो ।
उनिहरूले बुधबार राजधानी काठमाडौंमा पत्रकार सम्मेलन गरि
नेकपा (क्रान्तिकारी) को गठन गरिएको जानकारी दिएको हो ।
गत कात्तिक २६ र २७ गते रौतहटमा बसेको क्रान्तिकारी शक्तिहरुको ऐतिहासिक भेलाले उत्पादनसहितको शसस्त्र जनविद्रोहको कार्यदिशा पास गर्दै नेकपा (क्रान्तिकारी) को गठन गरिएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
‘विप्लव नेतृत्वको नेकपाले अवस्तुवादी, अवैज्ञानिक बाटोमा लागेर जनमुक्ति सेना, जनसत्ता, जनअदालत विघटन गरेर दिशाहीन काल्पनिक बाटोमा लागेकाले नेकपा (क्रान्तिकारी) गठन गर्नुपरेको हो,’ कार्यक्रममा प्रचार विभागका प्रमुख अमर गोपालीले भने ।
उनले २०७७ सालमा विप्लवले सेना र सत्ता ३ बुँदेमार्फत केपी ओली सरकारलाई बुझाउनुलाई क्रान्तिकारीमाथि गरेको धोका, बेईमानी र जालसाजीको संज्ञा दिए । वैज्ञानिक समाजवाद कुनै पनि हालतमा जनमत संग्रहबाट आउने नसक्ने भन्दै वैज्ञानिक समाजवादको सिद्धान्त आफैले उत्पन्न गर्नपर्ने धारणासमेत राखे ।
नवगठित पार्टीमा ८१ जनाको केन्द्रीय समिति, १५ जनाको पोलिटब्युरो र ७ जनाको स्थायी कमिटि सचिवालय गठन गरिएको जनाइएको छ । पार्टीको कार्यसमितिमा महासचिव सक्षम, प्रवक्ता सम्भवलाई चयन गरिएको जनाइएको छ ।
उनिहरूकाे नाम भने सार्वजनिक गरिएको छैन ।



