काठमाण्डौ,१५ मंसिर ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अत्यावश्यक कामबाहेक विदेश नजान अपिल गरेको छ ।

कोभिड–१९ को ’ओमिक्रोन’ भेरियन्टको संक्रमणलाई दृष्टिगत गर्दै अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न तथा सावधानी अपनाउन मन्त्रालयले अपिल गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले नेपालमा संक्रमण फैलिन नदिन अत्यावश्यक कामबाहेक विदेश भ्रमण नगर्न आग्रह गरिएको जानकारी दिए ।

नेपालमा अहिलेसम्म यो भेरियन्ट फेला नपरेको जनाउदै उनले ओमिक्रोन भेरियन्टको आवश्यक निगरानी र परीक्षणको दायरालाई फराकिलो पारिएको बताए ।

नयाँ देखिएको यो भेरियन्टलाई समयमै सावधानी अपनाइ नेपालमा प्रवेश हुन नदिन र जनजीवनलाई सामान्य राख्न मन्त्रालय तथा सबै निकाय तीव्र रूपमा एक भएर काम गरिरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

यो भेरियन्ट बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिमा असर पार्ने देखिएको भन्दै विज्ञप्तिमा ओमिक्रोन संक्रमण रोक्न सबै सचेत र जिम्मेवार बनी जनस्वास्थ्यका मापदण्डको पालना गर्न÷गराउनसमेत मन्त्रालयले अनुरोध गरेको छ ।

केही दिनअघि मात्र अफ्रिकी देशमा पहिचान गरिएको ओमिक्रोन भेरियन्ट (बी.१.१.५२९) साउथ अफ्रिका तथा एसियाका केही देशमा अहिले तीव्र विस्तार भइरहेको अवस्था छ । विश्व स्वास्थ्य संगठनले यो नयाँ भेरियन्टलाई विश्वव्यापी ’भेरियन्ट अफ कन्सर्न’ भनी घोषणा गरेको छ ।

मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपले कोभिड–१९ बाट बचाउन मद्दत गर्ने भएकाले आफूलाई पायक पर्ने ठाउँमा गइ खोप लगाउन पनि अनुरोध गरेको छ ।