
काठमाण्डौ,१५ मंसिर ।
नेपालमा कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा पहिलो मात्रा लगाउनेको संख्या एक करोड नाघेको छ ।
पछिल्लो २४ घण्टामा दुई लाख २७ हजार ५८४ जनाले खोप लगाएसँगै कोरोनाविरुद्धको खोप लगाउनेको संख्या एक करोड नाघेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म नेपालमा ८५ लाख १४ हजार ६ सय ८४ जनाले पूर्ण मात्रा खोप लगाएका छन भने एक करोड ३० हजार ४०८ जनाले कम्तीमा एक मात्रा खोप लगाएको मन्त्रालयले जनाएको छ ।
आज लगातार दोस्रो दिन पनि दुई लाख जनाभन्दा धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । हिजो मंगलवार पनि एकै दिन दुई लाख १२ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
यसैबीच बुधबार थप ३१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १२ हजार ७२७ जनाको नमुना परीक्षण गर्दा दुई दशमलव ४८ प्रतिशत अर्थात् ३१६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै पछिल्लो २४ घण्टामा थप २५९ जना कोरोना संक्रमित निको भएका छन् ।
नेपालमा हालसम्म आठ लाख तीन हजार १६८ जना कोरोना संक्रमित निको भएका छन् ।
यही अवधिमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
नेपालमा हालसम्म ११ हजार ५२९ कोरोना संक्रमितको मृत्यु भएको छ ।
हाल नेपालमा ६ हजार ९५४ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





