बुटवल,१५ मंसिर ।
रुपन्देही उद्योग संघले ४४ आंै स्थापना दिवश विशेष कार्यक्रमको आयोजना गरी मनाएको छ ।
बुधवार बुटवलमा एक कार्यक्रमकाबीच अग्रज उद्योगी सम्मान तथा उत्कृष्ट औद्याोगिक पत्रकारिता पुरस्कार २०७७ वितरण गरेर मनाएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले मुललुकको समृद्धिका लागि उद्योगमैत्री नीति आवस्यक रहेको भन्दै औद्योगिक क्षेत्रको विकासका लागि राजनीतिक दल र उद्योगीहरुमा रहेको परनिर्भरताको भावनाको अन्त्य हुनुपर्ने धारणा राखे ।
औद्योगिक क्षेत्रको लागि आवश्यक औद्योगिक मैत्री बातावरण बनाउन नसक्दासम्म राष्ट्रिय उद्योगको विकास हुन नसक्ने भन्दै प्रदेश प्रमुख शेरचनले त्यसका लागि उद्योगमैत्री नीति आवस्यक रहेकोमा जोड दिए ।
राष्ट्रिय अर्थतन्त्रको निर्माण र स्वदेशी श्रमको सदुपयोग आजको राष्ट्रिय आवश्यकता रहेको बताउँदै उनले मुलुकको समृद्धिका लागि बास्तविक धरातलमा बसेर चिन्तन गर्न सुझाव दिए ।
राष्ट्रिय पूँजीको संरक्षण र विकासका लागि नीतिगत रुपमा स्पष्ट हुँदै वास्तविक राष्ट्रिय अर्थतन्त्र निर्माण गर्न आग्रह गर्दै प्रदेश प्रमुख शेरचनले प्रतिस्पर्धाको युगमा आफुलाई त्यसै अनुसार उभ्याउन सक्नुपर्ने बताए ।
आफुले बुटवल क्षेत्रमा २०११ देखि २०१५ सालसम्म समय विताएको स्मरण गर्दै स्वदेशी घ्यूलाई विस्थापन गर्न भारतीय डाल्डा घ्यू योजनाबद्ध रुपमा नेपालमा भित्र्याएको भन्दै उनले घ्यू आन्दोलनले स्थापित गरेको यस क्षेत्रको औद्योगिक आन्दोलनको निकै ठूलो महत्व रहेको बताए ।
कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष बामदेव क्षेत्रीले नेपालमा स्वदेशी उद्योगको स्थापना र विकासका लागि बनेका नीतिमा केही राम्रा कुरा भए पनि त्यसको सहि कार्यान्वन हुन नसक्दा नेपाली उद्योगहरु धारासायी भएको भन्दै स्वदेशी कच्चा पदार्थमा आधारीत उद्योग स्थापनामा जोड दिए ।
पछिल्लो समय उद्योगिहरु उद्योगबाट पलायन भएर व्यापार तिर लाग्ने प्रवृति बढेको भन्दै उनले त्यसको कारण पत्ता लगाई समस्या समाधान गरेर औद्योगिक विकासमा लाग्न आग्रह गरे ।
कार्यक्रममा नेपाल उद्योग परिसंघका लुम्बिनी प्रदेश संयोजक एजाज आलमले उद्योग संघले आफु र आफ्नो ब्राण्ड स्थापित गर्न धेरै समय खर्चेको स्मरण गर्दै स्वदेशी उत्पादनको प्रयोग गर्ने कुरालाई प्राथमिकतामा राख्न आग्रह गरे ।
सो अवसरमा संघका अध्यक्ष माधव प्रसाद पौडेलले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको औद्योगिक क्षेत्रले निकै कठिन परिस्थितिको सामना गरिरहेको बताउँदै राज्यको प्रभावकारी भूमिका, निजी क्षेत्रको सक्रियता र उपभोक्ताको साथ र सहयोग विना मुलुकमा औद्योगिक विकास हुन नसक्ने धारणा राखे ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, उद्योग व्यापार संगठन रुपन्देहीका अध्यक्ष अनिल ज्ञवाली, संघका पूर्व अध्यक्ष डम्मरदेव अर्याल, पुरस्कृत पत्रकार दामोदर खनाल, सम्मानित उद्योगी राजेन्द्रसिंह गुरुङ, निवर्तमान अध्यक्ष बाबुराम बोहोरा, नेपाली कांग्रेसका जिल्ला सदस्य हरि प्रसाद अर्याल, संघका वरिष्ट उपाध्यक्ष दिलिप सापकोटा,महासचिव हरि बहादुर खत्री
लगायतले आ आफ्नो भनाई राखेका थिए ।
सो अवसरमा संघले अग्रज उद्योगीहरु भुपाल कुमार श्रेष्ठ, बसन्तध्वज जोशी, स्व.रतनलाल अग्रवाल, बसन्त लोहनी र राजेन्द्रसिंह गुरुङलाई सम्मान गरेको थियो ।
त्यसैगरी संघले स्थापना गरेको उत्कृष्ट औद्योगिक पत्रकारिता पुरस्कार–२०७७ बाट पत्रकार दामोदर खनाललाई पुरस्कृत गरिएको थियो ।
यसैबीच स्थापना दिवशका अवसरमा रुपन्देही उद्योग संघले बुधवार बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । संघको प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा ६४ युनिट रगत संकलन भएको संघले जनाएको छ ।






