काठमाण्डौ,१३ मंसिर ।
अर्थमन्त्री जनार्दन शर्माले अनलाइन पत्रिकाहरूले पनि अब छिट्टै सरकारी विज्ञापन पाउने बताएका छन् ।
आज सोमवार प्रेस सेन्टर नेपाल काठमाण्डौको तेस्रो जिल्ला अधिवेशन कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले उक्त कुरा बताएका हुन् ।
प्रेस काउन्सिल नेपाललाई कार्यविधि बनाइ मूल्याङ्कन गरेर अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिन आग्रह गरेको भन्दै मन्त्री शर्माले अब छिट्टै प्रक्रिया अगाडि बढ्ने बताए ।
त्यसका लागि प्रेस सेन्टरले पनि थप पहल गर्दा अझ छिटो प्रक्रिया अगाडि बढ्न सक्ने उनले बताए ।
सरकारले अनलाइनहरूलाई पनि सरकारी विज्ञापन दिने निर्णय गरिसकेको जानकारी गराउदै मन्त्री शर्माले प्रेस काउन्सिलले कार्यविधि बनाएपछि अनलाइनहरूले सरकारी विज्ञापन पाउने बताए ।
उनले पत्रकारहरूको क्षमता अभिवृद्धि, तालिमका लागि सरकार सहकार्य गरी सहयोग गर्न तयार रहेको प्रतिवद्धता जनाए ।
नेकपा माओवादी केन्द्रको अबको मुख्य उद्देश्य संघर्ष गरेर ल्याएको परिर्वतनलाई संस्थागत गर्ने रहेको बताउदै अर्थमन्त्री शर्माले नेकपा माओवादी प्रचण्ड पक्षबाटै शान्ति प्रक्रियादेखि आजसम्मको स्थितिमा आएको उल्लेख गरे । नेपाललाई नयाँ मार्गचित्रमा लैजान आवश्यक रहेको बताउँदै उनले अब नेपालमा समाजवादी नयाँ बाटोको आवश्यकता औल्याए ।






