चितवन,१२ मंसिर ।
चितवनमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास असफल भएपछि निर्वाचन प्रकृया प्रारम्भ भएको छ ।
सहमतिको प्रयास सफल हुन नसकेपछि निर्वाचन प्रकृयाका लागि कार्यचालिकासमेत प्रकाशित गरिएको छ ।
निर्वाचन कार्यतालिका अनुसार राती ११ः३० मा अन्तिम मतदाता नामावली प्रकाशन गर्ने, ११ः३० देखि १२ः२० सम्म उम्मेदवारको दरखास्त फारम वितरण गर्ने, राती १२ः३० सम्म उम्मेदवारको दरखास्त फारम दर्ता गर्ने र १ बजे उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको छ ।
त्यस्तै,उम्मेदवारको नाम फिर्ताका लागि राती १ः३० देखि २ बजेसम्मको समय तोकिएको छ भने उम्मेदवारको अन्तिम नामावली प्रकाशन राति २ः१० मा गरिने र सोमबार बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।
सर्वसम्मत नेतृत्व चयनका लागि जिम्मेवारी पाएका अध्यक्ष केपी शर्मा ओलीले पहिलो चरणमा सहमतिका लागि नाम प्रस्तुत गर्ने तयारी गरे पनि उक्त प्रस्ताव सर्वस्वीकार्य हुने अवस्था नदेखिएपछि निर्वाचन कार्यतालिका प्रकाशित गरिएको हो ।





