चितवन,१२ मंसिर ।
पूर्वी चितवनको राप्ती नगरपालिका मैनाटार स्थित एउटा घरमा आगलागी हुँदा दुई बालबालिकाको जलेर मृत्यु भएको छ ।

जिल्लाको विकट क्षेत्र राप्ती नगरपालिका–१ मैनाटारस्थित जितबहादुर रुम्बाको घरमा शनिबार बिहान करिव १० बजे आगलागी भएको थियोे ।

आगलागीमा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी नरहरी अधिकारीले जानकारी दिए ।

आगलागीमा रुम्बाका छोरातर्फको नाति तीन वर्षीय सुरज रुम्बा र उनकै छोरीतर्फको तीन वर्षीया नातिनी मनिसा तामाङको जलेर मृत्यु भएको अधिकारीले बताए । उनीहरुको घटनास्थलमा नै मृत्यु भएको उनले बताए । काठ र टिनले बनेको घरमा आगलागी भएको हो ।

सोलारको व्याट्रि सर्ट भएर आगलागी भएको उनले बताए । घरका अभिभावक बाहिर गएका बेला घरमा आगलागी भएको थियो । विकट क्षेत्र भएकाले खबर बाहिर आउन ढिला भएको हो । आगलागीबाट घरमा भएको लत्ताकपडा, खाद्यान्न, भाडाकुडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।