चितवन,१० मंसिर ।
नेकपा एमालेका उपमहासचिब घनश्याम भुसालले उपाध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
नवौं महाधिवेशनबाट उपमहासचिव निर्वाचित भएका भुसालले महाधिवेशन स्थल चितवनबाटै उपाध्यक्षमा आफ्नो दाबी रहेको जनाएका हुन् ।
१० बुँदे सहमतिका आधारमा एमालेमा अडिएका १० नेता मध्यका भिम रावलले यस अघिनै अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेका छन् ।
भिम रावलले अध्यक्षमा उम्मेदवारी घोषणा गरिसकेकाले अघोषितरुपमा प्यानलका लागि भुसालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने आँकलन गरिएपनि उनले चार उपाध्यक्ष मध्ये एकमा उम्मेदवारी घोषणा गरेका छन् ।
सो समूहबाट अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने सम्भावना रहेको छ ।
शुक्रबार नारायणी किनारमा उद्घाटन भएको एमाले महाधिवेशनको भोलिदेखि सौराहमा बन्दसत्र सुरु हुदैछ ।
बन्दसत्रको पूर्व सन्ध्यामा एमाले अध्यक्ष केपी ओलीले एमाले कन्द्रीय कमिटीको अन्तिम बैठक बोलाएका छन् ।
सौराहस्थित जंगल क्राउन होटेलमा ८ बजेदेखि बसेको केन्द्रीय कमिटीको बैठकले सर्वसम्मत नेतृत्व चयन गर्ने बिषयमा छलफल हुनसक्ने बताइएको छ ।
नेतृत्व चयनका लागि भोलि नै उम्मेदवारी दर्ता हुने र पर्सि मतदान हुने निर्वाचन समितिले जनाएको छ ।





