चितवन,१० मंसिर ।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दशौँ महाधिवेशनबाट एमालेलाई मात्रै नभइ देशलाई नै हाँक्ने एकताबद्ध नेतृत्व निर्माण गर्नेे बताएका छन् ।

चितवनमा आजदेखि सुरु भएको एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीमा उच्चस्तरको समझदारी र एकता कायम गरी देशलाई दिशानिर्देश गर्ने नेतृत्व निर्माण गर्ने बताएका हुन् ।

उनले सकेसम्म सहमतिमा र नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन गर्ने बताए ।

महाधिवेशनको बन्द सत्रले उच्चस्तरमा सहमति, एकता र लोकतान्त्रिक अभ्याससहित विशेष उदाहरणीय र उल्लासपूर्ण रूपमा सम्पन्न गरेर सफलताको बन्द सत्रबाट सुखद सन्देशसहित बाहिरिने अध्यक्ष ओलीको दाबी छ ।

आगामि निर्वाचनमा एमाले एक्लैले बहुमत ल्याएर सरकार बनाउने दाबी गर्दै उनले एमालेलाई नभएर देश बनाउन एमालेलाई जिताउन आग्रह गरे ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक आन्दोलनबाट प्राप्त लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्नु सबै दलको जिम्मेवारी भएको बताए ।

नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले नेपालमा कम्युनिस्ट पार्टीको एकता अनिवार्य रहेको बताउदै राष्ट्रिय हित र विकासमा मतभेद हुन नहुने धारणा राखे ।

जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले संविधानलाई समावेशी र संघीयतालाई अझ प्रभावकारी बनाउनुपर्ने बताए । उनले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले कम्युनिस्ट पार्टी एकजुटको विकल्प नरहेको बताउदै कम्युनिस्ट एकताले मात्र देश र नागरिकको हित हुने धारणा राखे । देश र नागरिकका लागि दल एक ढिक्का हुनुको विकल्प नरहेको केसीको भनाइ थियो ।