चितवन,१० मंसिर । नेकपा एमालेको दशौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन हुने ठाउँ नारायणगढको नारायणी नदी किनार लगायत चितवनका मुख्य मुख्य ठाउँमा बिहानैदेखि नेता कार्यकर्ताको चहलपहल बढेको छ ।

चितवन र अरु ठाउँका सडकमा महाधिवेशनमा भाग लिन आउनेहरूको गाडी मात्रै देखिएको छ। आज दिउँसो १२ बजे अध्यक्ष केपी शर्मा ओलीले नारायणी नदी किनारमा महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।

महाधिवेशनको उद्घाटन अगाडि चितवन जिल्लाका सात ठाउँबाट जुलुस निकालिने भएको छ । विभिन्न ठाउँबाट आएकाहरुलाई भरतपुरका सात ठाउँबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको हो ।

एमाले चितवनका अध्यक्ष पार्वती रावलका अनुसार पूर्वबाट आउने सहभागीहरु भरतपुरको केन्द्रीय बसपार्कबाट जुलुसमा सहभागी हुनेछन् । पूर्वबाट आउने गाडीलाई केन्द्रीय बसपार्कमै पार्किङ गर्ने व्यवस्था गरिएको छ ।

पश्चिम नेपालबाट आउनेहरुलाई पुल्चोकबाट जुलुससहित सभामा सहभागी गराइने भएको छ । पश्चिमबाट आउने गाडीलाई गैँडाकोटतर्फको नारायणी नदी किनारमा पार्किङको व्यवस्था गरिएको छ ।

मुग्लिनको बाटो हुँदै आउने सहभागीहरुलाई आँटपारीबाट जुलुससहित सभामा सहभागी हुने व्यवस्था गरिएको छ । त्यस ठाउँमा रोकिएका गाडीलाई आँटपारीमा रहेको नेपाल ट्रष्टको जग्गामा पार्किङ गर्ने व्यवस्था गरिने भएको छ ।

चितवनको माडी, जगतपुर, गीतानगरतर्फबाट आउनेहरुलाई हाकिमचोकबाट जुलुसमा सहभागी हुने व्यवस्था गरिएको छ । ती ठाउँबाट आउने गाडीलाई पनि भरतपुर बसपार्कमा पार्किङको व्यवस्था गरिने छ । भरतपुरको पश्चिमी क्षेत्र चनौली, मेघौली लगायतका क्षेत्रबाट आउने सहभागीहरुलाई चौबीसकोठीबाट जुलुसमा सहभागी गराउने व्यवस्था मिलाइएको छ ।

भरतपुर महानगरपालिका वडा नं १६, १७, १८ लगायत पश्चिम चितवनबाट आउने सहभागीहरु बेलचोकबाट जुलुसमा सहभागी हुने जनाइएको छ ।
कालीका नगरपालिका र भरतपुर ११ तर्फबाट आउने सहभागीहरु विशालचोकबाट वीरेन्द्र क्याम्पस रोड हुँदै जुलुसमा सहभागी हुने कार्यक्रम रहेको छ ।