चितवन, ९ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न १० औँ राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको एमालेले जनाएको छ ।

चितवनमा भोली मंसिर १० देखि १२ गतेसम्म हुने महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको आतिथ्य शाखा नेकपा (एमाले) चितवनले जनाएको हो ।

जिल्लाका विभिन्न स्थानमा स्वागतद्वार निर्माण, उद्घाटन सत्रको मञ्च निर्माण तथा बन्दसत्र हुने हल निर्माण सहित आवास व्यवस्थापनको सबै काम पूरा भएको जिल्ला अध्यक्ष पार्वती रावलले जानकारी दिइन् ।

महाधिवेशन उद्घाटन स्थलमा मञ्च निर्माण, सेल्फी प्वाइन्ट निर्माण, गैँडाको मस्कट निर्माण सहितका सबै काम पूरा भएको जिल्ला अध्यक्ष रावलले बताइन् ।

जिल्ला प्रवेश गर्ने विभिन्न नाका र जिल्लाका मुख्य राजमार्गमा ४५ भन्दा बढी स्वागतद्वार निर्माण गरिएको रावलले जानकारी दिइन् ।

राजमार्गको दुवै छेउमा नेकपा एमाले र अनेरास्ववियुको झण्डा तथा ध्वजा पताका राखिएको छ । एमाले महाधिवेशनका लागि चितवनका राजमार्ग तथा महाधिवेशन स्थल र बन्दसत्र हुने स्थानलाई सिँगारिएको छ । महाधिवेशनको उद्घाटन सत्रमा चितवनबाट मात्रै एक लाख र देशभरीबाट पाँच लाख जनसहभागिता जुनाउने एमालेको तयारी छ ।

जिल्लाका विभिन्न स्थानमा एमालेको ६० हजार भन्दा बढी झण्डा, विद्यार्थी संगठन अनेरास्ववियुको झण्डा, अखिल नेपाल महिला संघको झण्डासहितका झण्डाहरु सडक किनारमा राखिएको प्रचार सहयोग समिति चितवनका संयोजक विजय सुवेदीले जानकारी दिए ।

महाधिवेशनलाई लक्षित गर्दै चितवनको सीमानाकाहरु मौवाखोला, मुग्लिन, पुलचोक तथा लोथरदेखि नै महाधिवेशनमा सहभागी हुने प्रतिनिधि तथा पाहुनाको स्वागतका लागि स्वागतद्वार तथा पार्टीका झण्डाहरु राखिएको सुवेदीले बताए ।

नेकपा एमालेको महाधिवेशनमा आउने दुई २९७ प्रतिनिधि, स्वदेशी तथा विदेशी पाहुना गरी ३ हजार ५ सय जनाका लागि आवस व्यवस्थापनको काम भएको आवास व्यवस्थापन समितिका संयोजक एवं संघीय सांसद कृष्णभक्त पोखरेलले बताए । महाधिवेशनका लागि विभिन्न जिल्लाबाट प्रतिनिधिहरु आउने क्रम सुरु भएको पोखरेलले बताए ।