तराईका केही सहरको प्रदूषण ’घातक’ अवस्थामा

काठमाण्डौ,८ मंसिर ।
काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको छ । घाम लागेसँगै केही दिन वायु प्रदूषण घटे पनि अहिले काठमाण्डौसहित देशभरको वायु प्रदूषण फेरि बढेको प्रदूषण मापन केन्द्रहरूले जनाएका छन् ।

देशका धेरैजसो प्रदूषण मापन केन्द्रहरूले फेरि देशभरको वायु प्रदूषण बढेको देखाएका हुन् ।

काठमाण्डौको रत्नपार्कमा रहेको वायु प्रदूषण मापन केन्द्रको तथ्याङ्कअनुसार अहिले काठमाण्डौमा हावाको प्रदूषण मापन सूचक एक्यूआई एक सय ६० नाघेको छ । एक्यूआई एक सय नाघेपछि मानिसका लागि अस्वस्थ वातावरण भएको मानिन्छ ।

अहिले तराई क्षेत्रको प्रदूषण झनै बढेको जनाइएको छ । सिमरा र विराटनगरका केन्द्रहरूले एक्यूआई दुई सय नाघेको देखाइरहेका छन् । एक्यूआई दुई सय नाघ्नु अति जोखिमपूर्ण घातक अवस्था मानिन्छ ।

यति बेला काठमाण्डौ विश्वका प्रदूषित हावा भएको सहरहरूको सूचीमा चौथो नम्बरमा रहेको छ । सबैभन्दा धेरै प्रदूषित हावा भएको सहरमा भारतको केन्द्रीय राजधानी दिल्ली र दोस्रोमा पाकिस्तानको लाहोर र तेस्रोमा भारतकै कोलकत्ता शहर रहेको छ ।