बुटवल,८ मंसिर ।
लुम्बिनी प्रदेशका स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत चौधरीले कुरा गरेर मात्रै नभएर अब काम गरेर देखाउने बेला आएको बताएका छन् ।

‘विश्व प्रतिजैविक सचेतना सप्ताह २०७८’ को अवसरमा बुधबार स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयद्धारा आयोजित एन्टिभाइटीक औषधीको असर सम्बन्धी छलफल कार्यक्रममा बोल्दै मन्त्री चौधरीले उक्त कुरा बताएका हुन् ।

एन्टिभाइटीक औषधीको प्रयोगका कारण मानव स्वास्थ्यमा पर्ने गम्भीर असरहरुको बारेमा डाक्टरहरुलाई बढी जानकारी हुने भन्दै मन्त्री चौधरीले त्यसको प्रयोगमा कमि ल्याउने कार्यको सुरुवात पनि डाक्टरहरुबाटै गर्नुपर्नेमा जोड दिए ।

कुन रोगका लागि कुन औषधी प्रयोग गर्न मिल्छ र कुन मिल्दैन भन्ने बारेमा डाक्टरहरुनै जानकार हुने भन्दै उनले भने– ‘जसलाई जानकारी छ उसबाटै त्यसको प्रयोग गर्न छाडौं र जसले जानेको छ नजानेकालाई पनि जानकारी गराऔं ।’

एन्टिभाइटीक औषधीको प्रयोग बिना रोग निको नहुने अवस्थामा मात्रै एन्टिभाइटीक औषधीको प्रयोग गर्नुपर्ने भन्दै उनले त्यसको प्रयोगमा कमी ल्याउने कार्यमा विश्व स्वास्थ्य संगठनले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवस्यकता औल्याए ।

कार्यक्रममा स्वास्थ्य,जनसंख्या तथा परिवार कल्याण मन्त्रालयका सचिब डा.विकाश देवकोटा,प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरी,मन्त्रालयका प्रवक्ता डा.पुष्पराज पौडेल,नेपाल पत्रकार महासंघका प्रदेश महासचिब विक्रम खड्का लगायतले आ आफ्नो भनाई राखेका थिए ।