काठमाडौं,५ मंसिर ।
शहीद स्मारक ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुवात गरेको छ ।
आइतबार भएको खेलमा एपीएफ क्लबलाई ३–२ ले पराजित गर्दै ब्रिगेड ब्वाइज क्लबले विजयी सुरुवात गरेको हो ।

प्रतिस्पर्धात्मक खेलको ईन्जुरी टाईममा गोल गर्दै ब्रिगेडले ३ अंक जोडेको छ ।

ब्रिगेडको जितमा दिनेश राईले दुई तथा सुरज गुरुङले एकगोल गरे । एपीएफका आशिष लामा र बिके तामाङले गोल फर्काए ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलको ११औं मिनेटमै दिनेश राईले गोल गर्दै ब्रिगेड लाई अग्रता दिलाएका थिए । उनले करीब ३५ यार्ड टाढाबाट फ्रिकिकमा गोल गरेका हुन् ।

तर त्यो अग्रता लामो समय टिक्न सकेन । १७ औं मिनेटमा आशिष लामाले एपीएफका लागि बराबरी गोल फर्काए । गोलकिपर राजु योगिले रिलिज गरेको बलमा आवास लामिछानेले दिएको पासमा आशिषले गोल गरेका हुन् ।

४४ औं मिनेटमा ब्रिगेडका रोसन राना मगरको प्रहार पोष्टमा लागेर फर्किएको थियो । दोस्रो सुरुमा एपीएफले अग्रता लिने अवसर गुमायो । ४९औं मिनेटमा एपीएफमा आशिष लामाले सिक्स यार्ड बाहिरबाट हानेको भलि प्रहार बारमा लागेर फर्किएको थियो ।

५३ औ मिनेटमा आशिषकै प्रहार पोष्ट नजिकबाट बाहिरियो भने ५५औं मिनेटमा दिनेश राईको प्रहार पनि पोष्ट बाहिर गयो ।

६५औं मिनेटमा दिनेश राईले ड्याड्डी जुनियरको पासमा व्यक्तिगत दोस्रोगोल गर्दै ब्रिगेडलाई २–१ को अग्रता दिलाए । तर एपीएफले फेरि बराबरी गोल फर्कायो । ७७ औं मिनेटमा वैकल्पिक खेलाडी रवि थिङको पासमा बिके तामाङले बराबरीगोल फर्काए ।

ईन्जुरी टाईममा वैकल्पिक खेलाडी सुरज गुरुङले भुवन बस्नेतको पासमा गोल गर्दै ब्रिगेडलाई जित दिलाए ।

जितपछि ब्रिगेडका प्रशिक्षक सनोज श्रेष्ठले खेल प्रतिस्पर्धात्मक भएको र ३ अंकले राहत पुगेको बताए ।

बल होल्ड गर्न नसक्दा योजना अनुसार खेल्न नसकेको प्रशिक्षकको रुपमा ए डिभिजनमा डेब्यू गरेका एपीएफका प्रशिक्षक कुमार थापाले बताए ।

थापाले लास्ट सिजन ब्रिगेडसँग ड्र खेलेको तर ब्रिगेडले यस सिजनमा सुधार गरेको बताए । ए डिभिजन लिगमा डेब्यू गरेका आवास लामिछाने र सनिस श्रेष्ठले राम्रो खेलेको थापाको भनाई छ ।

आवास स्पेनको मड्रिड एकेडेमीमा ट्रेनिङ गरेका खेलाडी भएको उनले बताए ।

एपीएफका प्रशिक्षक कुमार थापाले ए डिभिजन लिगमा प्रशिक्षकको रुपमा डेब्यु गरे । मनाङ मस्र्याङदी क्लब र एपीएफबाट लिग खेलेका कुमार सफल खेलाडी हुन् ।

लिगमा प्रशिक्षकको रुपमा पुनरागमन गरेका कुमारको सुरुवात भने राम्रो हुन सकेन । कुमारले खेलाडी जीवनमा मनाङबाट ३ पटक लिग जितेका थिए
उनले पछिल्लो पटक राष्ट्रिय महिला टिमको प्रशिक्षण सम्हालेका थिए ।