देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी

बुटवल,५ मंसिर ।
गृहमन्त्री बालकृष्ण खाणले गृहमन्त्रालय मातहतका अस्पतालहरुमा आँखा विभाग स्थापना गर्ने घोषणा गरेका छन् ।

आइतबार बुटवल स्थित लायन्स आँखा अस्पतालको रजत महोत्सवलाई सम्बोधन गर्दै उनले लायन्स आँखा अस्पतालले आँखाको महत्वलाई उजागर गरिदिएको बताउँदै गृहमन्त्रालय मातहतका अस्पतालहरुमा आँखा विभाग स्थापना गर्ने घोषणा गरेका हुन् ।

मोतिपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रले ओगटेको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताउदै गृहमन्त्री खाणले बसोबास गरिरहेका जनतालाई नहटाईकन उद्योग स्थापनाको व्यवस्था मिलाउन रुपन्देहीका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।

भैरहवाबाटै अन्तर्राष्ट्रिय उडान सुरु गर्न सरकार प्रयत्नशील रहेको भन्दै उनले त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षीलाई उडान इजाजतको लागि प्रस्ताव राखिसकेको जानकारी दिए ।

गृहमन्त्री खाणले एमाले उपमहासचिव विष्णु पौडेल र मञ्चमा बसिरहेका लुम्बिनी प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रति संकेत गर्दै बुटवललाई राजधानी बनाउँछु भनेर जनतासँग भोट मागेर राजधानी अन्तै सार्ने काम गरेको टिप्पणी गरे ।

देउवा नेतृत्वको सरकार बनेपछि प्रहरी संगठनमा व्यापक सुधार भएको दाबी गर्दै उनले सरकारले परिचर र सिपाहीलाई सोही पदबाट पेन्सन पाक्ने परम्पराको अन्त्य गरेको दाबी गरे । परिचर प्रहरी जवानबाट पेन्सन हुने र प्रहरी जवान सहायक हवल्दारबाट पेन्सन निस्कने प्रवन्ध सरकारले मिलाउने तयारी गरेको खाणले जनाए ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले बुटवललाई उदयमान सिटिको रुपमा बिकास गर्न स्वास्थ्य र शिक्षाका कार्यक्रम प्रभावकारी रुपमा अगाडि बढाउनु पर्ने बताए ।

अध्यक्ष रामेश्वरप्रसाद श्रेष्ठले अस्पतालको बारेमा जानकारी गराउंदै बिरामीको चापसंगै भवन साँगुरो भएको र अस्पताल सञ्चालनको लागि जग्गाको खोजी भईरहेकाले सहयोगको आग्रह गरेका थिए ।

लायन्स आँखा अस्पतालका अध्यक्ष रामेश्वर श्रेष्ठको अध्यक्षतामा भएको रजत महोत्सव कार्यक्रममा नेत्र बिज्ञान अध्ययन संस्थानका अध्यक्ष डा. चेतन पन्त, लायन्सका द्वितीय भाईस डिष्ट्रिक गभर्नर नवराज न्यौपाने, नेपाल नेत्रज्योती संघका केन्द्रीय उपाध्यक्ष सागरप्रताप राँणा, सेवा फाउण्डेसनका रामप्रसाद कंडेल, लायन्स क्लव अफ बुटवलका अध्यक्ष लोकप्रसाद खरेल, पूर्व अध्यक्ष तथा रजत महोत्सव आयोजक समितिका सचिव दिनेशप्रसाद श्रेष्ठ लगायतले आँखा अस्पतालले आँखा स्वास्थ्यको क्षेत्रमा पु¥याएको योगदानबारे चर्चा गरेका थिए ।

त्यस अवसरमा आँखा अस्पतालमा योगदान गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।