काठमाण्डौ,५ मंसिर ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शान्ति प्रक्रियाका बाँकी कार्यभार छिटै पूरा गर्न आफू प्रतिबद्ध रहेको बताएका छन् ।

वृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएको १५ वर्ष पूरा भएको अवसरमा आज एक प्रेस विज्ञप्ति जारी गरी अध्यक्ष प्रचण्डले युद्धलाई शान्तिमा रूपान्तरण गर्ने काम सम्पन्न भए पनि त्यो समयमा घटेका घटनाको सत्य÷तथ्य छानबिन गरी सार्वजनिक गर्न र पीडितहरूलाई परिपूरण गर्न अझै बाँकी रहेको भन्दै बाँकी कार्यभार पुरा गर्न आफू प्रतिबद्ध रहेको बताएका हुन् ।

अध्यक्ष प्रचण्डले युद्धका बेला भएका कमजोरीहरूको छानबिन गरी सत्य÷तथ्य सार्वजनिक गर्ने प्रतिबद्धता समेत जनाएका छन् । आजसम्मका राजनैतिक उपलब्धिहरूप्रति गर्व गर्दै त्यसबेला भएका कमीकमजोरीहरूको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न आफू प्रतिबद्ध रहेको विज्ञप्तिमा उल्लेख छ ।

द्वन्द्वकालका घटनाहरूको छानबिन गर्नु सरकारको मात्रै मामिला नभएर राज्यका हरेक निकाय र राजनीतिक दलहरू एकताबद्ध हुनुपर्ने उनको भनाई छ ।