काठमाण्डौ,५ मंसिर ।
नेपाल पत्रकार महासंघले विभिन्न राजनीतिक दलको निर्वाचनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

प्रमुख राजनीतिक दलका विभिन्न तहका कमिटीमा हाल भइरहेका चुनावमा पत्रकार महासंघ का सदस्यता लिएका व्यक्तिहरू पनि चुनिएको र प्रतिस्पर्धा गरेको विषयमा गम्भीर ध्यानाकर्षण भएको जनाउदै महासंघले राजनीतिक दलको निर्वाचनमा उम्मेदवार र प्रतिनिधि बनेकाहरूको सदस्यता खारेज गर्ने चेतावनी दिएको हो ।

पत्रकार महासंघका महासचिब रोशन पुरीले एक प्रेस विज्ञप्ति प्रकाशीत गरी पत्रकार महासंघको विधानले पत्रकार महासंघका पदाधिकारी वा सदस्यले पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रहेर काम गर्न नपाउने व्यवस्था गरेको सम्झाउँदै विधान विपरीत राजनीतिक दलका संघ–संगठनमा रहेर काम गर्ने पत्रकारलाई स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता नै खारेज गर्नेसम्मको चेतावनी दिएका हुन् ।

कुनै पनि दलको कार्यकारी पदमा बसेर स्वतन्त्र तथा सन्तुलित पत्रकारिता नहुने महासंघले स्मरण गराएको छ ।

अहिले नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, राप्रपा लगायतका दलहरूको विभिन्न तहमा अधिवेशन चलिरहेको छ । दलका अधिवेशनमा पत्रकार महासंघका सदस्यहरू नै उम्मेदवार बनेपछि आलोचना भइरहेको छ ।