पाल्पा,४ मंसिर । लुम्विनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले
दाेस्राे चाैमासिक सम्ममा परिणाम देखिनेगरी काम गर्ने दाबी गरेका छन् ।

आफुले ल्याएको बजेट पारित गराउन लाग्नुपर्नेमा पुर्ववर्ती सरकार संसदीय अभ्यास बिपरित सदन छाडेर हिड्दा बजेट ल्याउन ढिलाइ भएकोले पहिलो चाैमासिकमा बजेट कार्यान्वयन कमजोर देखिएको भन्दै मुख्यमन्त्री केसीले दाेस्राे चाैमासिक सम्ममा परिणाम देखिने गरि बजेट कार्यान्वयन हुने दाबी गरे ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाले शनिबार तानसेनमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले उक्त कुरा बताएका हुन् ।
आगामी चारदेखि छ महिनामा बजेटलाई प्रभावकारी कार्यान्वयन गर्ने प्रदेश सरकारकाे याेजना रहेको बताउदै प्रभावकारी ढङ्गले बजेट कार्यान्वयन गरेर जनताको आकांक्षा पूरा गर्ने उल्लेख गरे ।
प्रदेश सरकारले ल्याएको बजेटलाई प्रभावकारी कार्यान्वयन गरेर परिणाम देखिने गरी काम गर्ने बताउदै मुख्यमन्त्री केसीले भने – ‘बजेट खर्चका नाममा खर्च मात्र होइन, बजेटबाट परिणाम देखिने गरी काम अघि बढाउछाै’ ।
पुर्ववर्ती सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई परिमार्जन गरेर वर्तमान सरकारले जनताको आवश्यकताका आधारमा बजेट बनाउदा केही समय लागेको बताउदै उनलेे बजेट कार्यान्वयन कार्यबिधि बनेर काम अगाडि बढेकाले अब विकासको काम द्रुतगतिमा अगाडि बढ्ने विश्वास ब्यक्त गरे ।

मुख्यमन्त्री केसीले प्रदेश सरकारले विपद्बाट क्षति पु¥याएका किसानलाई क्षतिपूर्ति दिने र बाढी पहिरोबाट प्रभावित जनतालाई राहत दिने विशेष योजना ल्याएर पिडितहरूका समस्या सम्बोधन गर्ने जानकारी दिए ।

गाउँमै राम्रो शिक्षा प्रदान गर्न प्रदेश सरकारले मुख्यमन्त्री शैक्षिक सुधार कार्यक्रम ल्याएको बताउदै उनलेे युवाहरूलाई स्वदेशमै राेजगारी प्रदान गर्न सीपविकास तालिम दिने योजना अगाडि बढाएको उल्लेख गरे ।
काेभिड-१९ प्रभावित विद्यालयहरू नियमित सञ्चालन गर्न बालबालिकाका लागि आवश्यक खोपका लागि सरकारले पहल गरिरहेको जानकारी गराउदै मुख्यमन्त्री केसीले केन्द्र सरकारसँग समन्वय गरेर खोप ल्याउने र त्यो नभए प्रदेश सरकार आफैँ अघि सरेर खोप ल्याउने योजना रहेको बताए ।

विपक्षी दलले संसद्मा गरेको अबरोधकाे विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले अदालतमा बिचाराधिन रहेको मुद्दाको बिषयमा संसदमा कुरा उठाउन नपाइने संविधानमै ब्यवस्था रहेको बताउदै त्यसै बिषयलाई लिएर संसद अबरुद्ध गर्नु असान्दर्भिक र लोकतन्त्र बिरोधी कार्य भएको टिप्पणी गरे ।
संसद् विपक्षीकाे हो भन्ने संसदीय अभ्यास रहेको भन्दै उनलेे संसदमा आफ्नो मत राख्न छाडेर एमालेले संसद् अबरोध गरेर गैरलोकतान्त्रिक चरित्र देखाएको आरोप लगाए । एमालेले आफूलाई लोकतान्त्रिक पार्टी भनेपनि संसद्मा लगातार गरेको अबरोधले उसको भनाइ र गराइमा तादाम्यता नमिलेको मुख्यमन्त्री केसीको भनाई छ ।

लोकतन्त्र मान्छु भन्ने पार्टीले समीक्षा गरेर छिट्टै संसद् अबरोध गर्न छाडेर एमालेले संसद्को उपयोग गर्ने विस्वास ब्यक्त गरे । सरकार आलोपालो चलाउने विषयमा पत्रकारहरूले राखेको जिज्ञासामा मुख्यमन्त्री केसीले गठबन्धनको सहकार्यमा आलाेपालाे सरकार चलाउने विषयमा सहमति भएपनि तिथिमिति ताेकेर लिखित कागज नगरिएकाे बताए ।
पाँच दलीय गठबन्धनको सरकार सहमतिमा सञ्चालन गर्ने भन्ने सहमति भएको हो, उनले भने कसरी कसले कति समय चलाउने भन्ने विषय लिखित कागज गरिएको छैन ।´

पत्रकार महासंघका अध्यक्ष रेखीराम रानाको अध्यक्षता, उपाध्यक्ष भरत शर्माको स्वागत र सचिव यज्ञमूर्ति तिमिल्सिनाको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।