बुटवल,२ मंसिर । बुटवल लायन्स आँखा अस्पताल स्थापना भएको २५ वर्ष पुरा भएको अवसरमा रजत महोत्सव मनाईँदैछ ।
शुक्रबार, शनिबार र आईतबार (मंसिर ३, ४ र ५ गते) बिशेष कार्यक्रम गरि रजतमहोत्सवको तयारी गरिएको बिहिबार अस्पतालमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो ।
रजत महाेत्सवकाे अवसरमा अस्पतालले कम्तिमा २५ जना मोतियाबिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गर्ने जनाएको छ। रजत महोत्सव विशेष कार्यक्रमको पहिलो दिन शुक्रबार कम्तिमा २५ जना मोतिया बिन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने अस्पताल व्यबस्थापन समितिका सभापति तथा अस्पताल सञ्चालन गरेको लायन्स क्लव अफ बुटवलका पूर्व अध्यक्ष रामेश्वर श्रेष्ठले जानकारी गराए ।
उनका अनुसार शुक्रबार कम्तिमा २५ जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यकृया गरिनेछ । यदि त्यो भन्दा बढी भएपनि सबैको निःशुल्क शल्यक्रिया गरिने उनले बताए ।
अस्पतालले २५ वर्षको अन्तरालमा २४ हजार ३ सय जना मोतियाविन्दुको शल्यक्रिया गरेको जनाएको छ । मोतियाविन्दुका नेत्र रोगीको एसआईसिएस तथा फेको प्रविधिबाट शल्यक्रिया गरिँदै आएको श्रेष्ठले बताए । त्यस्तै ९ लाख आँखाका बिरामलाई ओपिडी सेवा प्रदान गरिएको उहाँले बताउनु भयो ।
बिद्यालय आँखा जाँच कार्यक्रम अन्तरगत ३३० बिद्यालयका १ लाख ५१ हजार बिद्यार्थीको आँखा जाँच गरिएको अस्पतालले जनाएको छ ।
त्यसमध्ये दृष्टिदोष भएका २ हजार ७ सय जना बिद्यार्थीलाई निःशुल्क चस्मा प्रदान गरिएको अस्पतालले जनाएको छ । त्यस्तैगरी ४ सय स्थानमा आँखा शिबिर सञ्चालन गरिएको र ८९ हजार बिरामीको आँखा जाँच गरिएको र त्यसमध्ये मोतियाबिन्दु देखा परेका १३ हजार ६ सय जनालाई अस्पतालमा ल्याई निशुल्क शल्यक्रिया गरिएको बताईएको छ ।
नेपाल नेत्रज्योती संघ, लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर र लायन्स क्लव अफ बुटवलद्वारा सञ्चालित बुटवल लायन्स आँखा अस्पतालले रजत महोत्सवको अवसरमा शुक्रबार आँखा स्वास्थ्य सम्बन्धि जनचेतनामुलक प्रभातफेरी, मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गरिने जनाइएको छ ।
त्यस्तैगरि शनिबार रक्तदान र आईतबार मुल समारोह गरिने रजत महोत्सव आयोजक समितिका सचिव दिनेशप्रसाद श्रेष्ठले जानकारी दिए । गृहमन्त्री बालकृष्ण खाँणको प्रमुख आतिथ्यतामा हुने मुल समारोहमा अस्पताल सञ्चालनमा योगदान पु¥याएका व्यक्तिहरुलाई सम्मान तथा शुभकामना आदान–प्रदान गरिने छ । अस्पतालमा हाल २ जना नेत्ररोग विशेषज्ञ र ४२ जना कर्मचारी कार्यरत छन् ।
सन् १९८२÷८३ मा स्थापित लायन्स क्लव अफ बुटवलले बुटवलमै नेत्ररोग उपचारको लागि निःशुल्क ‘नेत्र परीक्षण कार्यक्रम’ शुरु गरि आँखा रोगको उपचार थालनी गरेको थियो भने सन् १९८५÷८६ मा सेवा फाउण्डेसन र लुम्बिनी नेत्र बिज्ञान अध्ययन संस्थान तथा रिसर्च सेन्टर÷रणअम्बिका आँखा अस्पतालको सहयोगमा २० कात्तिक २०४२ देखि लुम्बिनी प्रादेशिक अस्पताल (साविक लुम्बिनी अञ्चल अस्पताल)मा साप्ताहिक नेत्ररोग उपचार केन्द्र सञ्चालन गरिएको थियो ।
बुटवल लायन्स क्लवको सचिवालय भवन निर्माण सम्पन्न भएसंगै १९ साउन २०५३ उक्त नेत्ररोग उपचार केन्द्र उक्त भवनमा स्थानान्त्रण गरिएको अस्पतालका सभापति श्रेष्ठले बताए । सेवा केन्द्रमा आँखाका बिरामी बढ्दैगएपछि क्लवका संस्थापक अध्यक्ष स्व. सुर्यप्रसाद प्रधानको पहलमा आर्थिक संकलन गरि दुईतले भवन निर्माण गरियो भने उक्त सेवा केन्द्रलाई ‘बुटवल लायन्स आँखा अस्पताल’को रुपमा परिणत गरिएको थियो ।

बिरामीको चाप बढ्दैगएपछि सेवालाई अझै सहज बनाउन अत्याधुनिक भवन निर्माण गरि सेवा बिस्तारको तयारी गरिएको र त्यसको लागि जग्गाको खोजी भईरहेको लायन्स क्लव अफ बुटवलका कार्यवाहक अध्यक्ष (प्रथम उपाध्यक्ष) महेशप्रसाद श्रेष्ठले बताए ।
अस्पताल ब्यवस्थापन समितिका सदस्य प्रकाश रायमाझीले अन्तर्राष्ट्रिय संघसंस्थाहरुले आँखा उपचारमा जग बसाल्ने काम भएको भन्दै अस्पतालकाे स्थायित्वका लागि सरकारकाे तर्फबाट पनि सहयोग आवश्यक रहेको औंल्याए।
नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले अस्पतालले आँखा स्वास्थ्यमा पु¥याएको योगदान सरकारलाई बुझाउन आवश्यक रहेको र त्यसमा पत्रकारिता क्षेत्रबाट पूर्ण सहयोग हुने प्रतिवद्धता व्यक्त गर्दै पत्रकारलाई निःशुल्क उपचारको प्रवन्ध मिलाउन अस्पताललाई आग्रह गरे ।