काठमाण्डाै,९ असोज ।
अबका दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्ने भएको छ । मौसमविद् रोजन लामिछानेका अनुसार भोलि शनिवार र पर्सि आइतवार गरी दुई दिन पश्चिमी क्षेत्रमा वर्षाको गतिविधि बढ्नेछ ।
बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभावले देशका धेरैजसो ठाउँमा निरन्तर वर्षा भइरहेको छ । पछिल्लो २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मुसलधारे वर्षा भएको छ । बाढी तथा पहिरोको जोखिम पनि बढेको छ ।
न्यून चापीय प्रणाली भारतको छत्तीसगढ र आसपासको क्षेत्रमा रहेको र क्रमशः नेपालतर्फ सर्दै जाने र त्यसको प्रभाव आजदेखि पश्चिमतर्फ सर्दै जाने मौसमविद् लामिछानेले बताए ।
उनका अनुसार आज र भोलि विशेषगरी बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा वर्षाको गतिविधि केही बढी हुने देखिन्छ । पूर्वी क्षेत्रमा भने क्रमशः वर्षाको गतिविधि घट्दै जानेछ र मौसममा सुधार आउने सम्भावना छ ।
आइतवार पूर्वी क्षेत्रमा मौसममा सुधार आउने देखिए पनि पश्चिमी क्षेत्रमो प्रभाव कायम रहनेछ । असोज १२ गते सोमवारदेखि देशभर मौसम क्रमशः सुधार हुने तथा असोज १३ गतेदेखि वर्षाको प्रभाव अझै कम हुने पूर्वानुमान छ ।
आज पानी परिरहेका क्षेत्र तथा चेतावनी जारी गरिएका ठाउँमा बाढी, पहिरो र डुबानको जोखिमलाई ध्यान दिई अनावश्यक यात्रा नगर्न र आवश्यक सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।






