काठमाडौं,३० कार्तिक ।
विवेकशील साझा पार्टीका थप ३ जना केन्द्रीय सदस्यहरुले पार्टी परित्यागको घोषणा गरेका छन् ।
पार्टी परित्याग गर्नेहरुमा केन्द्रीय सदस्यहरु सरला लामिछाने, प्रतिभा डङ्गोल र दीपा अर्याल रहेका छन् । उनीहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गरी पार्टी परित्यागको घोषणा गरेका हुन् ।
आफूहरुले मान्दै आएको राजनीतिक सिद्धान्त, विचार र बाटो नै फरक परेकोले त्यो दलमा रहनुको कुनै औचित्य नभएको उनीहरुको भनाइ छ ।
’साझा पार्टी अन्तिममा यही धारमा जाने अनुमान नगरिएको पनि हैन । तर, वैकल्पिक राजनीतिमा होमीएका हामीले नेतृत्वको अभिव्यक्ति र अनेकौं दस्तावेजलाई विश्वास नगर्ने भन्ने नै भएन। अन्य दलमा भएको भए शायद नै आज अचम्मित हुने थिएनौं, भनाइ र गराइमा फरक नौलो पनि लाग्दैन थियो होला । दुई व्यक्तिको राजनीतिक सिद्धान्त र बिचारमा भिन्नता हुनु पनि अस्वाभाविक हैन । कुरा यति मात्र हो सीमित व्यक्तिले आफ्नो राजनीतिक सिद्धान्त र बिचारलाई समयमा स्पष्ट पारेको भए हामीले यति महत्वपूर्ण समय (करिब ४ वर्ष) आन्तरिक कलह र खिचातानीमा बिताउनु पर्ने थिएन,’संयुक्त विज्ञप्तिमा भनिएको छ ।
सिंहदरबार वरिपरि हुर्किएर सहज पहुँच भएकालाई संघीयता अनावश्यक लाग्नु, खर्चिलो लाग्नु स्वाभाविक भएको उनीहरुको टिप्पणी छ ।
आफूहरुले कल्पना गरेको राजनीतिक व्यवस्था अहिलेको संविधान च्यातेर नयाँ संविधान लेख्ने नभएको उनीहरुको भनाइ छ ।
’हामीलाई त आम नागरिकको अवस्था परिवर्तन भएको हेर्नु छ । शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा सुधार गर्नु छ । यातायात, संचार, विधुतमा सबैको समान र सहज पहुँच जस्ता जनकेन्द्रित राजनीति गर्ने दल आजको आवश्यकता हो भन्ने हाम्रो बुझाइ हो। आजको दिनमा विवेकशील साझाले आफुलाइ यी सबै मुद्दाबाट फरक राखेको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
कुनै परिवारमा जन्मेकै आधारमा कोही व्यक्तिले आफूहरूमाथि शासन गर्न पाउने व्यवस्था कल्पना पनि गर्न नसकिने पनि उनीहरुको भनाइ छ ।
पार्टी अध्यक्ष रवीन्द्र मिश्रले संघीयताको खारेजी र धर्म निरपेक्षताबारे जनमत संग्रह गर्नुपर्ने प्रस्ताव अगाडि सारेदेखि विवेकशील साझाको आन्तरिक विवाद चुलिएको हो । मिश्र पक्षले राजनीतिक प्रस्ताव पारित गरेको घोषणा गरेपछि धेरै नेताहरुले पार्टी परित्यागको घोषणा गर्न थालेका छन् ।





