काठमाण्डाै,३० ३० कार्तिक ।
नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीले पहिलो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कतारलाई १ सय १९ रनले पराजित गरेको छ ।
कतारको दोहामा रहेको वेस्ट इन्ड पार्क स्टेडियममा नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको कतार ११ ओभर ५५ बलमा अलआउट हुँदै २७ रनमा समेटियो । कतारका लागि खादिजा इम्तियाज र एन्जेलिन मारेले ८/८ रन जोडिन्। केरी पाउनसेटले ७ तथा रिज्फा बानोले ३ रन बनाइन् ।
कतारका पाँच खेलाडी शून्य रनमा आउट भए । कतारलाई सस्तैमा समेट्न नेपालकी कप्तान रुबिना क्षेत्रीले ३ विकेट लिइन् । कविता कुँवर र सीता राना मगरले २/२ तथा करुणा भण्डारीले १ विकेट लिइन् । यसअघि पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो । नेपालका लागि इन्दु बर्माले अर्धशतकीय इनिङ्ग्स खेलिन् ।
उनले ४७ बलमा ५ चौकाको मद्दतमा ५५ रन बनाएर रिटायर्ड हर्ट भइन्। टी–२० अन्तरराष्ट्रियमा इन्दुको यो पहिलो अर्धशतक हो। यसका साथै उनी नेपालका लागि टी–२० आईमा अर्धशतक बनाउने पहिलो महिला खेलाडी पनि बनिन्।
टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा इन्दुको यो पहिलो अर्धशतक हो । कप्तान रुबिना क्षेत्री शून्य रनमा आउट भइन् । कविता कुँवर ८ रनमा अविजित रहँदा अप्सरी बेगम शून्य रनमा अविजित रहिन् ।
यसअघि दोहास्थित वेस्टएन्ड पार्क स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो।
नेपाली टोलीले टी–२० अन्तरराष्ट्रियमा बनाएको यो अहिलेसम्मकै उच्च योगफल हो। यसअघि नेपालले सन् २०१९ मा मलेसियाविरुद्ध १ सय २६ रन बनाएको थियो।
यस जितसँगै नेपालले तीन म्याच सिरिजमा १–० को अग्रता बनाएको छ। नेपाल र कतार पहिलोपटक टी–२० अन्तरराष्ट्रिय सिरिज खेलिरहेका हुन्। सिरिज सकिएपछि नेपाली टोली ३ मंसिरमा यूएईतर्फ लाग्ने कार्यक्रम छ।
जहाँ नेपालले आइसिसी वुमन्स टी–२० एसिया छनोटका खेल खेल्ने छ। पहिलो खेलमा ६ मंसिरमा हङकङसँग प्रतिस्पर्धा गर्दा ७ मंसिरमा भुटान र ९ मंसिरमा कुवेतसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ।
त्यस्तै, १० मंसिरमा मलेसिया र १२ मंसिरमा युएईसँग प्रतिस्पर्धा गर्ने कार्यतालिका छ। सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्वकपको लागि नेपालसहित ६ राष्ट्रले ग्लोबल छनोटको लागि युएईमा एसिया छनोट खेल्न लागेका हुन्।








