काठमाण्डौ,२६ कार्तिक ।
बहराइनले नेपाली श्रमिकको यात्रामाथि लगाएको प्रतिबन्ध हटाएको छ ।
नेपाललाई रातो सूचीबाट हटाउँदै बहराइनले नेपालीको आवागमन खुला गरेको बहराइन स्थित नेपाली दूतावासले जनाएको छ ।
कोरोना संक्रमण रोकथामका लागि बहराइनले विभिन्न देशलाई रेड लिस्टमा राख्दै अन्तर्राष्ट्रिय यात्रामा प्रतिबन्ध लगाएको थियो ।
तर नोभेम्बर १४ अर्थात् भोलि शनिबार राती १२ बजेदेखि बहराइनले नेपाललाई रेड लिस्ट कन्ट्रीबाट हटाउने निर्णय गरेको बहराइनमा रहेको नेपाली दूतावासले जनाएको छ ।
बहराइन सरकारको यो निर्णयसँगै अब नेपाली श्रमिकहरू रोजगारीका लागि बहराइन जान पाउने भएका छन् । विश्व स्वास्थ्य संगठनले मान्यता दिएको कोरोना विरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू बहराइन पुगेपछि क्वरेण्टीन बस्न पर्दैन ।
बहराइन यात्रा गर्ने यात्रुले साथमा क्युआर कोडसहितको अंग्रेजी भाषामा जारी खोप प्रमाणपत्र अनिवार्य साथमा राख्नुपर्नेछ ।
खोप नलगाएका वा एक मात्रा मात्र लगाएका यात्रुले भने त्यहाँ पुगेपछि आफ्नो बसोबास भएकै ठाउँमा वा बहराइनको स्वास्थ्य मन्त्रालयले तोकेको स्थानमा १० दिन क्वरेण्टीनमा बस्नुपर्छ ।
खोप लगाएका र खोप नलगाएका दुवै यात्रुले बहराइन पुगेपछि विमानस्थलमा र पाँचौँ तथा दसौँ दिनमा पीसीआर परीक्षण गर्नुपर्ने जनाइएको छ ।






