काठमाण्डौ,२६ कार्तिक ।
कानुन व्यवसायीको विरोध प्रदर्शनमा सर्वोच्च अदालत अगाडि झडप भएको छ ।
आन्दोलनरत पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच झडप भएको हो ।
झडपपछि केहीलाई प्रहरीले पक्राउ गरेको छ । कानुन व्यवसायीको विरोध प्रदर्शनलाई मध्यनजर गर्दै सर्वोच्च अदालत आसपासमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई आज सर्वोच्च अदालतभित्र प्रवेश गर्न नदिने तयारी स्वरुप सर्वोच्च अदालत अगाडि धर्नामा बसेका कानुन व्यवसायी र प्रधानन्यायाधिस पक्षीय कानून व्यवसायीबीच झडप भएको हो ।
हिजो प्रदर्शनको क्रममा प्रहरीले बल प्रयोग गरेको भन्दै नेपाल बारले आज प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालतमा प्रवेशमा रोक लगाउने तयारी गरेको थियो ।
यसैबीच नेपाल बारको धर्नाकाबाबजुद प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन् ।
कानुन व्यवसायीहरुले मुल गेटमा धर्ना दिएपछि १९ जना न्यायाधीशहरु पनि वैकल्पिक गेटबाट सर्वोच्च परिसरमा प्रवेश गरेका छन् ।
उनीहरु महान्यायाधिवक्ता कार्यालय तर्फको गेटबाट अदालत प्रवेश गरेका हुन् । मुल गेटमा भने नेपाल बार एसोसिएसनका पदाधिकारी र कानून व्यवसायीले धर्ना दिइरहेका छन् ।
कानुन व्यवसायीको आन्दोलनका कारण अहिले सर्वोच्च अदालत आसपासका सडकमा गाडीको चाप बढेको छ । माइतीघर मण्डला, थापाथली, सिंहदरबार चोक र पद्मोदय मोडमा गाडीको चाप बढेको ट्राफिक प्रहरीले जनाएको छ ।






