काठमाण्डौ,२४ कार्तिक ।
१२ औं राष्ट्रिय जनगणनाको मुलगणना बिहीबारदेखि देशभर सुरु हुने भएको छ । त्यसका लागि सबै तयारी पुरा भएको केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।
उनले पहिलो चरणको सूचीकरण कार्यक्रम सम्पन्न भइसकेको र भोलिदेखि पहिलो चरणबाट छुटेका घर परिवारलाई समेत समावेश गरेर जनगणनाको मुलगणना कार्य सुरु गरिने बताए । उनकाअनुसार जनगणनाका लागि ४० हजार हारहारीमा गणक खटिनेछन् भने ८ हजार ५०० सुरपरीक्षेक पनि संलग्न हुनेछन् ।
जनगणनाका लागि सातै प्रदेशका साथै जिल्लास्तरका ८७ स्थानमा जनगणना कार्यालय स्थापना भएका छन् भने स्थानीय स्तरमा पनि ३४९ कार्यालय स्थापना भएको श्रेष्ठले जानकारी दिए । उनका अनुसार जनगणना भोलि बिहानदेखि सुरु भएर मंसिर ९ गतेसम्म सञ्चालन हुनेछ ।
महानिर्देशक पछिल्लो समय जन्मदर कम देखिएको, अन्तर्राष्ट्रिय बसाइँ सराइलगायतका कारण अहिले ३ करोड जनसंख्या भनिएपनि त्यो संख्या नपुग्ने देखिएको बताए । जनगणनाबाट आउने विवरणबाट नै जनसंख्याको वास्तविक आकार, प्रकार र संरचना थाहा हुने भएकाले सबै पक्षबाट जनगणनालाई सफल बनाउन सकारात्मक भूमिका आवश्यक रहेको उनको भनाइ छ ।
उनले १५ दिनभित्र कुनै पनि हालतमा जनगणना गरिसक्ने पनि बताए । जनगणनाका तथ्यांकको दुरुपयोग हुन नदिन आफूहरु सचेत रहेको र सबै तथ्यांक गोप्य रहने उनको दाबी छ ।
महानिर्देशक श्रेष्ठले नेपालको नक्सामा समेटिएको भूगोल लिपुलेक, लिम्पियाधुरा र कालापानीमा भारत सरकारले सहज रुपमा आवत् जावत् गर्न दिएमा भौतिक रुपमा उपस्थित भएर जनगणना गरिने बताए । त्यसरी आवत् जावत् गर्न नदिएमा अन्य स्रोतहरुको प्रयोग गरेर जनगणना गरी सो क्षेत्रको अनुमानित विवरण प्रकाशन गरिने उनको भनाइ छ ।






