बुटवल,२४ कार्तिक ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कूलप्रसाद केसीले नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी प्रदेश सरकार अगाडि बढेको बताएका छन् ।
“ छठ पर्व –२०७८” को अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री केसीले नेपाल र प्रदेशको विविधितालाई सम्पत्तिको रुपमा ग्रहण गरी सरकार अगाडि बढेको बताएका हुन् ।
हाम्रो देश नेपाल र लुम्बिनी प्रदेश बहु जाती, बहुभाषिक र बहु साँस्कृतिले भरीपूर्ण रहेको भन्दै मुख्यमन्त्री केसीले देश र प्रदेशको विबिध जाती, भाषा, सँस्कृति र भेषभुषालाई एकीकृत गरी अगाडि बढेमा मात्रै समृद्ध प्रदेशको निर्माण गर्न सकिने विश्वास ब्यक्त गरेका छन् ।
विगतको राज्यव्यवस्थाले सृजना गरेका वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक लगायतका सबै प्रकारको विभेद र उत्पीडनको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समाजवाद उन्मुख व्यावस्था निर्माण गर्ने हाम्रो संविधानको संकल्प रहेको उल्लेख गर्दै मुख्यमन्त्री केसीले सबै समुदायको चाड, पर्वलाई प्रदेश सरकारले समान पूर्वक मान्यता प्रदान गर्दै सबैको सहअस्तित्व, सहकार्य, भाइचारा, सद्भावलाई विकास गर्न सबैमा प्रेरणा प्रदान गरोस भन्ने कामना गरेका छन् ।
संविधानले संघीय लोकतान्त्रिक गणतन्त्र, धर्मनिरपेक्षता, संघीयताको कार्यान्वयन सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थाका लागि वलिदानीपूर्ण संघर्षबाट नेपाली जनताले प्राप्त गरेका अधिकारहरूलाई संस्थागत गर्ने प्रतिवद्धता जनाउदै सन्देशमा भनिएको छ–‘हामीले संविधानमा लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित संघीयताको कुशल कार्यन्वयन गर्दै समाजवादप्रति प्रतिबद्ध रही समृद्ध प्रदेश एवं राष्ट्र निर्माण गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दीगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्ने संकल्प गरेका छौं ।’
प्रदेशबासीको जीवनलाई समृद्ध बनाउन “समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश” बनाउने आकांक्षाको यात्रामा प्रदेश सरकार पूर्ण प्रतिवद्ध रहेको जनाउदै मुख्यमन्त्री केसीले छठ पर्व २०७८ को अबसरमा प्रदेशवाशीको हर्ष, उल्लास, सद्भाव पूर्ण भावना कायम रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।







