क्षतिको आधारमा किसानलाई राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत
काठमाण्डौं,२३ कार्तिक ।
बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा भएको घटनाका मृतकका परिवारलाई सरकारले राहत उपलब्ध गराउने भएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मोतीपुर घटनाका मृतकका परिवारलाई ५ लाख ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको हो ।
पाँच लाख रुपैयाँ आर्थिक सहयोग र ५० हजार किरिया खर्च दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
बुटवलको मोतीपूरमा निर्माणाधीन मोतीपुर औद्योगिक क्षेत्रको जग्गा अतिक्रमण गर्न खोज्ने समूह र प्रहरीबीच गत २४ असोजमा भएको झडपका क्रममा सुरक्षाकर्मीको गोली लागेर चार जनाको मृत्यु भएको थियो भने दुई दर्जन बढी घाइते भएका थिए ।
यसअघि प्रदेश सरकारले मोतीपुर घटनामा मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ सहयोग उपलब्ध गराउने निर्णय गरेको थियो ।
यस्तै मन्त्रिपरिषद् बैठकले क्षतिको आधारमा किसानलाई राहत उपलब्ध गराउने कार्यविधि स्वीकृत गरेको छ ।
हालैको बेमौसमी वर्षाबाट धानबालीमा भएको क्षतिको राहत उपलब्ध गराउने सम्बन्धमा कार्यदलले पेश गरेको कार्यविधि स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को यही कात्तिक ८ गतेको बैठकले बेमौसमी वर्षापछि बाढी र डुबानका कारण धानबालीमा भएको क्षतिको अध्ययन गर्न कार्यदल गठन गरेको थियो ।
कार्यदलमा गृहमन्त्रालयका सचिवलाई संयोजक तोकिएको थियो । सदस्यहरूमा कृषि मन्त्रालयका सचिव, अर्थ मन्त्रालयका सचिव, उद्योग मन्त्रालयका सचिव, संघीय मामिला मन्त्रालयका सचिव र राष्ट्रिय योजना आयोगका सचिव छन् । कार्यदललाई तीन दिनको समयसीमा दिइएको थियो । कार्यदलले तयार पारेको कार्यविधिका आधारमा थप प्रक्रिया अगाडि बढ्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री कार्कीले जानकारी दिए ।
बेमौसमी वर्षाका कारण देशभर झण्डै रु सात अर्ब बराबरको धानबाली नष्ट भएको प्रारम्भिक अनुमान गरिएको छ । मन्त्री कार्कीले क्षतिका आधारमा पीडितलाई राहत उपलब्ध गराइने दृढता व्यक्त गरे ।
यस्तै सरकारले नेपाल कृषि तथा वन सेवा समूहतर्फ राजपत्रांकित विशिष्ट श्रेणीको पदमा निरु दाहाल पाण्डेलाई बढुवा गर्ने निर्णय गरेको छ ।
कीर्तिपुर नगरपालिका र चीनको हुवाइ प्रान्त हु ह्याङ शहरबीच भगिनी सम्बन्ध स्थापना गर्न अनुमति दिने सरकारले निर्णय गरेको छ ।






