राष्ट्रियसभा र उपनिर्वाचनमा मिलेर जाने सहमति
काठमाण्डौ,२२ कार्तिक ।
पाँच दलीय सत्ता गठबन्धनले नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गरेको छ ।
सोमबार बेलुका बसेको सत्ता गठबन्धन दलको बैठकले काँग्रेसका वरिष्ठ नेता पौडेलको नेतृत्वमा ११ सदस्यीय राजनीतिक संयन्त्र गठन गर्ने निर्णय गरेको हो ।
सरकारको काम कारबाहीलाई प्रभावकारी बनाउन सत्ता गठबन्धनले राजनीतिक संयन्त्र गठन गरेको जनाइएको छ ।
संयन्त्रमा सत्ता गठबन्धनमा रहेका ५ वटा पार्टीबाट २–२ जना सदस्य रहने नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
मन्त्रिपरिषद्बाट सञ्चार मन्त्री ज्ञानेन्द्र कार्की पनि संयन्त्रका सदस्य रहनेछन् । संयन्त्रका पदेन सदस्य नरहे पनि प्रधानमन्त्री भने संयन्त्रको बैठकमा सहभागी हुने श्रेष्ठले बताए ।
पौडेलले दुई महिना संयन्त्रको नेतृत्व गर्नेछन् भने त्यसपछि आलोपालोमा गठबन्धनमा आबद्ध पार्टीले त्यसको नेतृत्व गर्नेछन् ।
बैठकमा सहभागी नेताका अनुसार संयन्त्रमा नेपाली काँग्रेसको तर्फबाट पौडेल र कृष्ण सिटौला, माओवादीको तर्फबाट पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नारायणकाजी श्रेष्ठ, नेकपा (एकीकृत समाजवादी) को तर्फबाट माधव नेपाल र नाम दिन बाँकी एक जना, जसपाको तर्फबाट उपेन्द्र यादव र नाम दिन बाँकी एक जना, राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी र दुर्गा पौडेल सदस्य रहने जनाइएको छ ।
संयन्त्रलाई सरकारका काम कारबाहीमा समन्वय गर्ने, गठबन्धनबीच अन्तर्विरोध भए निवारण गर्ने, राष्ट्रिय सभा र उपनिर्वाचनको तालमेलबारे सहजीकरण गर्ने जिम्मेवारी दिइएको छ ।
यसैबीच पाँच दलीय सत्ता गठबन्धनले आगामी निर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको छ । सोमबार बसेको गठबन्धनको बैठकले आगामी राष्ट्रियसभाको निर्वाचन र उपनिर्वाचनसम्म गठबन्धनलाई निरन्तरता दिने निर्णय गरेको हो । बैठकमा सहभागी नेताका अनुसार सरकार रहुन्जेल गठबन्धनलाई निरन्तरता दिने नेताहरूबिच सहमति भएको छ ।






