हेटौंडा,२२ कार्तिक ।
बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री पाण्डेले विश्वासको मत प्राप्त गरेका हुन् ।

मुख्यमन्त्री पाण्डको पक्षमा ५९ मत परेको थियो भने विपक्षमा ४३ मत परेको थियो ।

१०४ जना प्रदेश सभा सदस्यहरू मतदानमा सहभागि भएकोमा दुवै पक्षमा मत दिन्नँ अर्थात् तटस्थमा जम्मा २ मत परेको छ ।

यसअघि प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री पाण्डेले बागमती प्रदेशको हैसियतलाई माथि उठाउन सबै दलको सहकार्य हुन आवश्यक रहेको बताएका थिए ।

पाण्डेले बागमती प्रदेशको अनावश्यक खर्च घटाएर आम्दानी बढाउने र प्रदेशमा सुशासन कायम गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताएका छन् ।

उनलाई नेकपा एकीकृत समाजवादी पार्टीका अतिरिक्त नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपा नेपालका सांसदहरूले मतदान गरेका हुन् ।

प्रदेशसभामा एउटा मात्रै दलको बहुमत नपुगी दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री बनेको एक महिनाभित्र संसदमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्थाबमोजिम पाण्डेले सोमबार विश्वासको मत लिएका हुन् । १०९ प्रदेशसभा सदस्य रहेको बागमती प्रदेशमा बहुमतको सरकार टिकाउन ५५ मत आवस्यक पर्छ ।