काठमाडौं,२२ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आन्दोलनरत ६ न्यायाधीश इजलास फर्किएका छन् ।

न्यायाधीशहरु बमकुमार श्रेष्ठ, कुमार चुडाल, प्रकाशकुमार ढुङ्गाना, कुमार रेग्मी, तेजबहादुर केसी र नहकुल सुवेदी सोमबार इजलासमा पुगेर बन्दीप्रत्यक्षीकरणको मुद्दा हेरेका हुन् ।

इजलासमा फर्किएर मुद्दाको सुनुवाइ गरेपनि उनीहरूले आफूहरूको आन्दोलन जारी रहेको बताएका छन् । प्रधानन्यायाधीश जबराले यसअघिको सहमति उल्लंघन गरेको आरोप लगाउँदै सर्वोच्च अदालतका सबै न्यायाधीशले इजलास बहिष्कार गरेका थिए ।

प्रधानन्यायाधीशको राजीनामा माग गर्दै नेपाल बार एसोसिएसनले चरणबद्ध आन्दोलन गर्दै आएको छ । यही विषयमा प्रधानन्यायाधीशको पक्ष र विपक्षका कानुन व्यवसायीहरुबीच बार परिसरमै कुटाकुट समेत भएको थियो ।