काठमाण्डाै,२२ कार्तिक ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीनामा नदिएसम्म आफूहरूको आन्दोलन जारी राख्ने कानुन व्यवसायीहरूले चेतावनी दिएका छन् ।

नेपाल बार एसाेसिएशनद्वारा सर्वोच्च अदालतको प्राङ्गणमा आज आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी भएका कानुन व्यवसायीहरूले प्रधानन्यायाशीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनको सामना गर्न तयार रहन समेत चुनाैती दिए ।

नेपाल बार एसाेसिएशनका उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराईले प्रधानन्यायाधीश जबराले राजीनामा नदिएसम्म आफूहरूले आन्दोलन जारी राख्ने बताए । उनलेे प्रधानन्यायाधीश जबराले अब पनि राजीनामा नदिए देशभरका कानुन व्यवसायीहरूको आन्दोलनकाे सामना गर्न तयार रहन चेतावनी दिए ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले न्यायालय समाप्त हुन लागेकाले प्रधानन्यायाधीश जबराको राजीनामा माग्न बाध्य हुनुपरेको स्पष्ट पारे । न्यायपालिकालाई संकटबाट बचाउन प्रधानन्यायाधीशले राजीनामा दिनुको विकल्प नभएको उनलेे बताए ।

नेपाल बार एसाेसिएशनले भाेलि मङ्गलवार बिहान साढे १० बजे पनि सर्वोच्च अदालतको प्राङ्गणमा धर्ना दिने जनाएको छ ।